बुटवलमा आध्यात्मिक जागृति : सत्सङ्गको वाणीलाई व्यवहारमा उतार्न जोड

बुटवल, ३ मंसिर । सत्सङ्गमा उपस्थित हुनु मात्र भक्ति नभई त्यहाँ श्रवण गरिएका सतगुरुका वाणीलाई मनन गर्दै जीवनको व्यवहारमा उतार्नु वास्तविक भक्तिको आधार भएको सन्त निरंकारी मण्डल, दिल्लीबाट आउनुभएका ज्ञान प्रचारक महात्मा विनोद वोहरा जीले बताउनुभएको छ ।

बुटवलमा आयोजित सत्सङ्गलाई सम्बोधन गर्दै उहाँले सतगुरुको वाणी जुनसुकै महात्माको मुखबाट आए पनि श्रद्धा र एकाग्रताका साथ सुन्नुपर्ने बताउनुभयो । सत्सङ्गमा सुनेका आध्यात्मिक विचारलाई कानबाट मन हुँदै हृदयसम्म पुर्याउन सके मात्र जीवनमा सकारात्मक परिवर्तन आउने र भक्तिले पूर्णतातर्फ यात्रा गर्ने उहाँको भनाइ थियो ।

सत्सङ्ग सत्य परमात्मा र उहाँसँग जोडिएका सन्त-महात्माहरूको संगत प्राप्त गर्ने अवसर भएको उल्लेख गर्दै उहाँले मनलाई स्थिर र जागृत राख्नुपर्नेमा जोड दिनुभयो । मन स्वभावतः सांसारिक तथा नकारात्मक विषयतर्फ आकर्षित हुने भएकाले सत्सङ्गमा उपस्थित भएर पनि वाणीमा ध्यान केन्द्रित गर्न नसके वास्तविक लाभ प्राप्त नहुने उहाँले बताउनुभयो । मोबाइल चलाउने, यताउता हेर्ने तथा आपसमा कुराकानी गर्ने प्रवृत्तिले सत्सङ्गको महत्त्वपूर्ण समय खेर जाने भएकाले पूर्ण एकाग्रताका साथ वाणी श्रवण गर्न उहाँले आग्रह गर्नुभयो ।
७९औँ निरंकारी सन्त समागम, समाल्खाको मूल विषय ‘जागृति’ स्मरण गराउँदै उहाँले जागृति जीवनभर आवश्यक रहने चेतना भएको बताउनुभयो । बाबा हरदेव सिंह जी महाराजको वाणीलाई उद्धृत गर्दै मानिस अज्ञानताको निद्राबाट जागेर आफ्नो वास्तविक पहिचान बुझ्नुपर्ने र मानव जीवनको उद्देश्य परमात्मासँग जोडिनु रहेको उहाँको भनाइ थियो ।
मानव जीवन अमूल्य अवसर भएको उल्लेख गर्दै उहाँले शरीरमा श्वास रहुन्जेल मात्र भक्ति, आत्मबोध र परमात्माको स्मरण गर्ने अवसर प्राप्त हुने बताउनुभयो । युवावस्थामा धन, व्यवसाय, सुखसुविधा र सांसारिक उपलब्धिमा व्यस्त रहने मानिसले बुढ्यौली वा अशक्ततामा भक्ति गर्न खोज्दा शरीरले साथ नदिन सक्ने भएकाले समयमै आध्यात्मिक साधनामा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
सन्त-महात्माहरूको मुख्य उद्देश्य मानवलाई अज्ञानताको निद्राबाट जगाउनु रहेको भन्दै उहाँले सन्तहरूको संगत, दर्शन र वाणीलाई जीवनमा आत्मसात् गर्नुपर्ने बताउनुभयो । सन्तका वचन अमूल्य रत्नसमान हुने र तिनलाई व्यवहारमा उतार्दा आत्मकल्याणको मार्ग प्रशस्त हुने उहाँको भनाइ थियो । सन्तहरूको जीवन परोपकार र मानव कल्याणमा समर्पित हुने उदाहरण दिँदै उहाँले वृक्षले आफ्ना फल आफैँ नखाने र नदीले आफ्नै पानी नपिउने प्रकृतिबाट निःस्वार्थ सेवाको भावना सिक्नुपर्ने बताउनुभयो ।

मानिसको वास्तविक पहिचान धन, पद, प्रतिष्ठा वा सांसारिक उपलब्धि नभई विवेक, चेतना, प्रेम र आध्यात्मिक समझ भएको उहाँले उल्लेख गर्नुभयो । सतगुरुको ज्ञानले मानिसलाई साधारण जीवनबाट उठाएर महामानव बन्न प्रेरित गर्ने भन्दै अहंकार र ‘म’ भाव त्यागी निरंकार परमात्माको भक्ति गर्नुपर्ने उहाँको धारणा थियो ।
संसारका सम्पूर्ण भौतिक वस्तु, धनसम्पत्ति, महल, मानप्रतिष्ठा र वनस्पतिसमेत नश्वर रहेको चर्चा गर्दै उहाँले क्षणभङ्गुर संसारमा मोह राख्नुभन्दा अविनाशी परमात्मासँग नाता जोड्नुपर्ने बताउनुभयो । शहंशाह बाबा अवतार सिंह जी महाराजको वाणीलाई स्मरण गर्दै सम्पूर्ण सृष्टिमा एक परमात्माको अस्तित्व रहेको र देखिने संसार उहाँकै लीला भएको सन्देश उहाँले प्रस्तुत गर्नुभयो ।
भक्ति गर्न गृहस्थ जीवन, जागिर, व्यापार वा पारिवारिक जिम्मेवारी त्याग्न आवश्यक नरहेको उल्लेख गर्दै उहाँले सांसारिक कर्म गर्दै मन र चित्त परमात्मासँग जोडिराख्नुपर्ने बताउनुभयो । भक्त नामदेव जीको वाणीले पनि मुखले प्रभुको नाम जप्दै कर्म गर्ने र चित्त निरंकारसँग जोडिराख्ने सन्देश दिएको उहाँले स्मरण गराउनुभयो ।

गुरुको ज्ञान हृदयमा बसेपछि हरेक कार्यको वास्तविक कर्ता परमात्मा नै हुनुहुन्छ भन्ने बोध हुने र अहंकारको भावना क्रमशः समाप्त हुँदै जाने उहाँले बताउनुभयो । परमात्माको साथ अनुभव गर्न थालेपछि जीवनका कठिनाइसमेत सहज लाग्ने भन्दै बाबा हरदेव सिंह जी महाराजको ‘कहे हरदेव यही है मौका, प्रभु भक्ति में लाग रे’ वाणीले अहिले नै भक्तिमा लाग्न प्रेरित गरेको उहाँको भनाइ थियो ।
सन्त-महात्माहरूले शरीरमा श्वास रहुन्जेल मानवलाई जागृतिको सन्देश दिइरहने भन्दै उहाँले सन्तहरूको आवाज सम्पूर्ण मानवजातिका लागि भएको बताउनुभयो । स्वामी विवेकानन्दको ‘उत्तिष्ठ, जाग्रत्’ अर्थात् उठ र जाग भन्ने उद्घोष स्मरण गराउँदै शारीरिक रूपमा उठ्नु मात्र नभई मन र आत्मालाई समेत जागृत बनाउनु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

मानव जीवन र सतगुरुको संगत दुर्लभ अवसर भएकाले आलस्य, मायामोह तथा नकारात्मक प्रवृत्तिबाट टाढा रहँदै आजैदेखि परमात्माको भक्ति, स्मरण र सत्सङ्गमा सक्रिय हुन उहाँले साधसङ्गतलाई प्रेरित गर्नुभयो ।
सत्सङ्ग कार्यक्रममा चन्द्रकला अर्याल जी, कृष्ण अर्याल जी, छविलाल जी, कमल जी, विनोद जी, मोतीलाल जी, वसन्ती जी, हिरा जी, लक्ष्मी जयसवाल जी, कमलेश जी, संगीता राई जी, इन्द्रदेव जी, सुन्दर जी, लालु जी, दिपनारायण जी, राजेश जी, श्यामलाल जी, प्रकाश जी, देवराज रिमाल (केन्द्रीय सदस्य), कन्हैया पाठक जी (कोषाध्यक्ष), नारायण जी, इन्दल के.सी. जी, टेक बदेला जी, रमेश जी, जगलाल जी, लनी लोहारा जी र मुरारी जीले आ–आफ्ना भजन तथा प्रवचनमार्फत भाव प्रकट गर्नुभएको थियो ।


You must be logged in to post a comment.