घर छाडेको डेढ वर्षपछि १३ देश घुमेर अमेरिका, ५६ दिन थुनामा बसेर नेपाल फिर्ता

६ साउन, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ३७ जना नेपाली २५ जेठ २०८२ मा काठमाडौं ओर्लिए । अमेरिकी सरकारले डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला २५ जेठ मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

उनीहरूलाई अध्यागमनले सामान्य सोधपुछ गर्यो । सँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पनि केरकार गर्यो । उनीहरू कसैले पनि अमेरिका पठाउने व्यक्तिको नाम पोलेनन् । जाहेरी दिन पनि आनाकानी गरे । सामान्य सोधपुछपछि उनीहरूलाई आफन्त तथा परिवारको जिम्मा लगाइयो ।

यसरी डिपोर्ट हुनेमध्ये एक जना युवाले यतिखेर आएर मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । ‘कोही पनि जाहेरी दिनै नमान्ने, केही बोल्नै नमान्ने प्रवृत्ति देखिएको छ । तर लामो परामर्श र कन्भिन्स गराएपछि अमेरिकाबाट फर्केका एक युवाले भने मानव तस्करीबारे जाहेरी दिनुभएको छ । हामीले अनुसन्धान अघि बढाएका छौं’ ब्युरो प्रमुख तथा एसएसपी कृष्ण पंगेनीले भने ।

मानव बेचबिखन तथा ओसार-पसारको कसुरमा पीडितको जाहेरी विना अनुसन्धान नै अघि नबढ्ने भएकाले अनुसन्धानमा समस्या हुँदै आएको छ । पीडितलाई पनि मानव तस्करको समूहले पुनः अर्को देश पठाउने प्रलोभन देखाउने र नसके पैसा फिर्ता दिने वचन दिने गरेकाले प्रहरीमा जाहेरी नगर्ने प्रवृत्ति छ ।


