भेटाएको साढे ४ लाख रकम बुझाउने इमानदार व्यवसायी नारायण बन्जाडे अभिनन्दित

रुपन्देही । समाजमा नैतिक धरातल खस्किरहेको वर्तमान अवस्थामा बुटवल १३ जितगढीस्थित व्यवसायी नारायण बन्जाडेले समाजमा असलहरू पनि छन् भन्ने उदाहरण पेस गरेका छन् ।
लालदरबार कटेजका सञ्चालक रहेका नारायण बन्जाडेले आफ्नो पसलमा साढे ४ लाख रकमसहितको झोला भेटाएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरेर सम्बन्धित व्यक्तिले प्रमाणसहित लिन आउन सामाजिक सञ्जालमा सूचना राखेका थिए ।

उनले सूचना राखेको अर्को दिन त्यो रकम हराएर छटपटिएका आकाश चौधरी सम्पर्कमा आएपछि मङ्गलवार जनप्रतिनिधि, प्रहरी र स्थानीयको रोहबरमा बुझाएका छन् ।
चौधरी आफ्नो आमासहित सोमबार मालपोत कार्यालयमा जग्गा पास दिन आउँदा नजिकै रहेको बन्जाडेको होटलमा खाजा खान जाँदा बिसेरै हिँडेका रहेछन् । आफूले भुलवश छोडेको चार लाख पचास हजार रुपैयाँ पाएपछि अत्यन्त इमानदारीपूर्वक पाउँदा निकै खुसी भएको चौधरीले बताए ।
बन्जाडेले आफूले होटलमा झोला देखेपछि सम्बन्धित व्यक्तिको सूचनाका लागि सामाजिक सञ्जालमा राखेर प्रहरी तथा स्थानीयलाई खबर गरेको बताए । ‘उहाँ मेरो होटलमा आएर जानुभएको रहेछ, दिनभरमा कति धेरै ग्राहक आउनुहुन्छ संयोगले कसैले त्यो भेटाएनछ मेरो हातमा परेपछि मैले सूचना राखेँ, कसैलाई त्यो रकमले ठूलो छटपटी हुनसक्छ भनेर मैले सबैलाई सूचना गरिदिन आग्रह गरेँ, समाजमा इमान्दारी देखाउनुपर्छ भनेर नै मैले तत्काल सूचना राखेको हुँ’ उनले भने ।
भेटाएको त्यति ठूलो रकम सम्बन्धित धनीलाई फिर्ता गरेको भन्दै स्थानीय र जनप्रतिनिधिले उनलाई सम्मान गरेका छन् । बुटवल १३ का वडाध्यक्ष नारायणप्रसाद पुनले नारायणप्रसाद बन्जाडेलाई अबिर र दोसल्लाले सम्मान गर्दै समाजमा इमान्दार व्यक्तिहरू अझै छन् भन्ने सन्देश यसले दिएको जनाए ।
अध्यक्ष पुनले नैतिक धरातल खस्किरहेको र धार्मिक मूल्य र मान्यताहरूले काम गर्न छोडिरहेको बेलामा लोभ र मोह मद र मात्सर्यबाट टाढा रहेर इमान्दारिताका साथ त्यति ठूलो धनराशि आकाश चौधरी र उहाँको आमालाई हस्तान्तरण गरेर प्रशंसनीय काम गरेको बताए ।
उनले समाजमा असल व्यक्तिहरू पनि छन् भन्दै अभिनन्दनीय काम गरेकोमा धन्यवाद दिँदै यस्तै सकारात्मक सन्देश दिएर समाजमा सुधार ल्याउन सकिने बताए।
बुटवल १३ को प्रहरी चाैकीका प्रमुख सई रनबहादुर बिसीले समाजमा यस्ता असल व्यक्तिबाट समाजले सिक्नुपर्ने भन्दै प्रहरीको तर्फबाट सम्मान गर्न पाएकोमा निकै खुसी भएको बताए ।
कार्यक्रममा जनप्रतिनिधि ध्रुव थापा, मन्दिरा गौडेल, ऋषि आजाद, लालबहादुर गुरुङ, केशव पौडेल, तारा गौडेल, यमप्रसाद गैरे, सीता आचार्य, शोभाकर पौडेलले अबिर लगाएर बन्जाडेलाई धन्यवाद दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
