आफू गाउँपालिका उपाध्यक्ष, पति २२ वर्षदेखि खाडीको श्रमिक

रुपन्देही । पति होस् या पत्नी, जीवनको जिम्मेवारी बराबर हुन्छ । पाल्पाको माथागढी गाउँपालिकामा सर्वसाधारणका समस्याकी साधक विष्णुमाया लुङ्चे मगर र पति सोमबहादुरका जीवनमा अनेकन् जिम्मेवारी आइलागे । त्यसलाई निर्वाह गर्ने सिलसिलामा व्योहोर्नुपर्ने कष्ट बराबरी बाँडेका छन् ।

सोमबहादुर २२ वर्षदेखि दुबईमा पसिना बगाइरहेका छन् । यहाँ विष्णुमायाले घर-परिवार, छोराछोरी, सासूआमाको चित्त बुझाएर सामाजिक काममात्रै गर्दिनन्, राजनीति पनि धानिरहेकी छन् । रोचक त के छ भने, उनले स्वास्थ्यसेवाको स्थायी जागिर छाडिन् । अहिले गाउँपालिका उपाध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । २०४८ सालमा विवाह गरिन् । पति सोमबहादुर २०५८ सालदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । विष्णुमायाचाहिँ सरकारीसमेत छोडेर जनताको सेवा गर्न जुटिन् ।

घामको किरणले धर्तीलाई राम्रोसँग चुम्न नपाउँदै विष्णुमाया जहिल्यै गाउँपालिकामा झुल्किएकी हुन्छिन् । शालीन र दायित्वप्रति अत्यन्तै संवेदनशील जनप्रतिनिधिको परिचय छ उनको । गाउँपालिकाको काम बाहेकको समयमा पनि स्थानीयको घरघरमा पुगेर दुःख–सुख, समस्या र समाधानका कुरा गरिरहेकी हुन्छिन् । अनुहारमा आत्मविश्वास, व्यवहारमा आत्मीयता र काममा दृढता– यी विष्णुमायाका विशेषता हुन् । पाल्पाको राजनीति बुझेका दलबहादुर गुरुङ भन्छन्, ‘उनी केवल उपाध्यक्ष मात्र हैनन्; गाउँकी आशा, महिला माझको प्रेरणा र समुदायसँग एकाकार भएको नेतृत्व हुन् ।’ जागिरमा हुँदाभन्दा अहिले दोब्बर खटिएको उनले बताए ।

विष्णुमायाले २८ वर्ष मातृ-शिशु स्वास्थ्यसम्बन्धी सेवामा बिताइन् । २०७९ सालमा राजीनामा दिएर गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनिन्, जितेरै देखाइन् । ‘मैले अझै १२ वर्ष काम गर्न पाउने समय थियो, कमाउनका लागि घरमा श्रीमान् नबसेर दुबई जानुभएको छ २२ वर्षदेखि’, उनले भनिन् ‘तर, म स्थानीयको काममा सहज बनाउन सक्छु, पहिलेभन्दा बढी सेवा दिन सक्छु भनेर घरपायकको स्थायी जागिर छाडेर राजनीतिमा आएकी हुँ, जनताको काम गर्न आएकी हुँ ।’
उनले स्वास्थ्य क्षेत्रमा पाएको अनुभव अहिले विकास, स्वास्थ्य, कृषि, महिला उद्यम, पर्यटन, शिक्षा-सबै क्षेत्रमा उपयोग भइरहेको छ । ‘उनको यात्रा लामो छ । उतार–चढावले भरिएको छ । संघर्ष र सिर्जनाले रंगिएको छ । र, यही यात्राले आजका विष्णुमाया लुङ्चे मगर बनाएको छ- गाउँको विकासमा होमिएकी, आमा-बच्चाको जीवनजल्ती बनिसकेकी, महिलाको आवाज बनेकी र नेतृत्वको अग्रपंक्तिमा उभिएकी दृढ आत्मा हुन्’ प्रशंसक गुरुङले भने ।


