दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

मुम्बई । दिग्गज भारतीय गायिका आशा भोसलेको निधन भएको छ। शनिबार साँझ मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको हिजो निधन भएको हो।
दिग्गज गायिका आशा भोसलेको जीवनी

सयौँ नेपाली गीतहरुमा स्वर दिएकी भोसलेले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीतहरु गाइसकेकी छन् । ७ दशकभन्दा बढी लामो करिअरमा उनले विभिन्न भाषा र शैलीमा हजारौं गीत गाइन। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन् । तर उनको सङ्गीत यात्रा त्यति सजिलो भने थिएन ।
आशा भोसले प्रसिद्ध रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन् । उनी मात्र ९ वर्षकी हुँदा उनका बुबाको निधन भएको थियो । त्यसपछि परिवारलाई सहयोग गर्न उनले दिदी लता मंगेशकरसँगै गायन सुरु गरेकी थिइन् ।
१६ वर्षको उमेरमा आशा भोसलेले परिवारको इच्छाविरुद्ध भागेर लता मंगेशकरका सेक्रेटरी गणपतराव भोसलेसँग विवाह गरेकी थिइन् । यस विवाहको लता र परिवारले कडा विरोध गरेका थिए, जसका कारण लामो समयसम्म उनीहरूबीच बोलचाल समेत बन्द भएको थियो ।
आशा भोसलेले आफ्नो करियरमा धेरै अवार्डहरू प्राप्त गरेकी छन् । यसमा ७ वटा फिल्मफेयर अवार्ड समावेश छन्, जुन उनलाई उत्कृष्ट महिला पार्श्वगायिकाको रूपमा प्रदान गरिएको थियो । साथै, उनले एक लाइफटाइम अचीभमेन्ट अवार्ड पनि प्राप्त गरेकी छन् ।
त्यसैगरी, उनलाई सन् २००० मा दादासाहेब फाल्के अवार्ड र सन् २००८ मा पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मानहरू पनि प्रदान गरिएको थियो। सन् २०१३ मा आशा भोसलेले मराठी चलचित्र ‘माई’ मा अभिनय समेत गरेकी थिइन् ।
भोसलेको नाममा दुबई र कुवेतमा सञ्चालनमा रहेका रेष्टुरेन्टहरू छन् । हिन्दीबाहेक उनले करिब २० वटा भारतीय तथा विदेशी भाषामा गीत गाएकी छन् । उनले गाएको ‘मोहनी लाग्ला है’, ‘पहाडको माथी माथी’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘एउटा मान्छे मनपर्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘तिम्रो मनमा लुकेको कुरा’, आदि जस्ता दर्जनौँ नेपाली गीतहरु सदाबहार छन।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
