सहयोग तथा उदार

बाढी–पहिरो प्रभावितको घर सफाइमा जुट्यो सन्त निरंकारी मण्डल नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धादिङ, २१ भदौ । बाढी–पहिरोका कारण प्रभावित परिवारको घरआँगनमा जमेको हिलो र माटो हटाउँदै सन्त निरंकारी मण्डल नेपालले विपद्मा परेका नागरिकको घर सफाइ अभियानमा हातेमालो गरेको छ ।

बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले मण्डलका ३६ जना सन्त–भक्त आज बिहानै दुईवटा फोर्स गाडी र दुईवटा साना जीपमार्फत प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । टोलीमा २२ जना सेवादल जवान र बाँकी साधसंगतका सदस्यहरु सहभागी रहेको जनाइएको छ।

टोलीले हाल धादिङको बैरेनी–गल्छी आसपास बाढी–पहिरोका कारण घरभित्रैसम्म हिलोले ढाकिएका परिवारका घर सफा गर्ने कार्यलाई तीव्रता दिएको छ। विपद्ले थलिएको घरलाई पुनः बस्नयोग्य बनाउने प्रयासमा सन्त–भक्तहरू श्रमदान गर्दै स्थानीय प्रभावित परिवारलाई प्रत्यक्ष राहतको अनुभूति गराइरहेका छन्।

हाल ३६ जनामध्ये २५ जना बैरेनी–गल्छी क्षेत्रमा घर सफाइमा जुटेका छन् भने बाँकी सदस्यहरू अन्य प्रभावित स्थानमा सरसफाइ तथा सेवा कार्यमा खटिएका छन्।

सन्त ध्रुव अधिकारीका अनुसार मण्डलले भोलि सोमबारदेखि आवश्यकताका आधारमा थप प्रभावित तथा अति आवश्यक स्थानमा सेवा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि मण्डलको ज्याकेट, टोपी तथा आवश्यक सुरक्षा सामग्रीसहित सेवादललाई परिचालन गरिने उहाँले बताउनुभयो।

विपद्को पीडामा मल्हम लगाउने उद्देश्यसहित सन्त निरंकारी मण्डल नेपालले सञ्चालन गरेको यो श्रमसेवा केवल सरसफाइमा सीमित नभई “मानव सेवा नै सच्चा सेवा” भन्ने भावनालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा लिइएको छ।

बाढी–पहिरोले घरबार र दैनिक जीवन अस्तव्यस्त बनाएका परिवारका लागि आफ्नो श्रम, समय र ऊर्जा समर्पित गर्दै सन्त–भक्तहरू प्रभावितको घरदैलोमै पुगेर सेवा गरिरहेका छन्। संकटका बेला हातेमालो गर्दै अघि बढ्ने यस्तो मानवीय सेवाले विपद्बाट प्रभावित समुदायमा आशा र भरोसाको भावना जगाउने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।