जलवायु

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, २२ भाद्र । सोमबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेका कारण देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ।

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।