टीकापुर

खादाले ढाकिए गुरुका काँध, आँसुले भिज्यो तीन दशकको कर्मभूमि : बिदा भए ज्ञवाली सर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २५ भदौ । सन्त निरंकारी आदर्श विद्यामन्दिरका शिक्षक कान्तिप्रसाद ज्ञवाली सरले आफ्नो जीवनका महत्वपूर्ण तीन दशक बिताएको कर्मभूमिबाट बिदाइ लिदा विद्यालयको वातावरण भावुक बनेको थियो। लामो समयसम्म विद्यार्थीलाई शिक्षा, संस्कार र जीवनोपयोगी ज्ञान प्रदान गर्नुभएका ज्ञवाली सरलाई शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारले भावपूर्ण वातावरणमा बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा ज्ञवाली सरलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो। शिक्षक तथा विद्यार्थीहरूले टीका र खादा लगाएर बिदाइ गर्दा विद्यालय परिसरमा भावुक दृश्य देखिएको थियो। लामो समयसँगै बिताएका गुरुबाट छुट्टिनुपर्दाको पीडाले धेरैका आँखा रसाएका थिए। केही बोल्न खोज्दा पनि भावनाले गला अवरुद्ध बनेको दृश्यले कार्यक्रमलाई थप मार्मिक बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष तथा विद्यालयका गुठियार बोर्ड अध्यक्ष नरबहादुर रावलले ज्ञवाली सरले विद्यालयलाई आफ्नो कर्मभूमि बनाएर विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासमा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो। विद्यालयले उहाँलाई निरन्तरता दिन चाहँदाचाहँदै पनि शिक्षा नियमावली तथा गुठियार बोर्डको नियमावली अनुसार अगाडि बढ्न नसक्ने अवस्था आएपछि बिदाइ गर्नुपरेको उहाँले बताउनुभयो।

ज्ञवाली सरको योगदान विद्यालयले सधैँ उच्च सम्मानका साथ स्मरण गर्ने बताउँदै रावलले आगामी दिनमा पनि विद्यालयलाई उहाँको सुझाव, सल्लाह र सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो। “सन्त निरंकारी मण्डल नेपाल उहाँका लागि चौबीसै घण्टा खुला छ,” उहाँले भन्नुभयो, “आवश्यक परेको समयमा उहाँको उपस्थिति र मार्गदर्शन पाइरहने विश्वास छ।”

गुठियार बोर्डका सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाले पनि ज्ञवाली सरले आफ्नो जीवनको महत्वपूर्ण समय विद्यालयमा समर्पित गर्नुभएको भन्दै आगामी जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। आफू विद्यालयको अध्यक्ष रहेका बेला ज्ञवाली सरले पुर्‍याउनुभएको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

कक्षा १० का छात्र हार्दिक रावलले ज्ञवाली सरले आफूहरूलाई पाठ्यपुस्तकको ज्ञान मात्र नभई असल व्यवहार र संस्कारसमेत सिकाउनुभएको बताउनुभयो। “उहाँ हामीबीचबाट बिदा हुनुभए पनि उहाँले सिकाउनुभएका ज्ञान, गुण र जीवनका कुराहरू सधैँ हाम्रो मानसपटलमा ताजा रहनेछन्,” उहाँले भावुक हुँदै भन्नुभयो।

विद्यालयका प्रधानाध्यापक भरत तिरुवाले ज्ञवाली सरले आफ्नो युवा अवस्थाको जोश, जाँगर र ऊर्जासहित करिब ३० वर्ष विद्यालयमा बिताउनुभएको स्मरण गर्नुभयो। उहाँबाट शिक्षा लिएर विद्यालयबाट निस्किएका धेरै विद्यार्थी सरकारी तथा निजी क्षेत्रमा उच्च जिम्मेवारीमा पुग्न सफल भएको उल्लेख गर्दै प्रधानाध्यापक तिरुवाले त्यस सफलतामा ज्ञवाली सरको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले ज्ञवाली सरको आगामी जीवन सुखद, सफल र प्रगतिशील रहोस् भन्ने शुभकामना व्यक्त गर्दै नवआगन्तुक शिक्षक–शिक्षिकालाई स्वागत गर्नुभयो।

बिदाइ मन्तव्य राख्दै शिक्षक कान्तिप्रसाद ज्ञवाली सरले विद्यालय, शिक्षक तथा विद्यार्थीहरूले आफूलाई दिएको माया, सम्मान र आत्मीयता जीवनभर अविस्मरणीय रहने बताउनुभयो। विद्यालयलाई आफू आवश्यक पर्ने जुनसुकै समयमा निर्धक्क उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

शिक्षाको महत्वबारे बोल्दै ज्ञवाली सरले शिक्षा संसारिक अन्धकारमा समेत उज्यालो बाल्ने शक्ति भएको बताउनुभयो। शिक्षाले मानिसलाई विनम्रता प्रदान गर्नुका साथै जीवनको लक्ष्य प्राप्तिका लागि आवश्यक चिन्तन र दृष्टिकोण निर्माण गर्ने उहाँको भनाइ थियो। विभिन्न जिम्मेवारीमा रहेर कर्तव्य निर्वाह गर्ने क्रममा आफूबाट कसैको मन दुखेको भए त्यसलाई बिर्सेर राम्रा कुरालाई आत्मसात् गर्न आग्रह गर्दै उहाँले सबैसँग क्षमासमेत माग्नुभयो।

सोही अवसरमा विद्यालयमा नवआगन्तुक शिक्षक–शिक्षिकाहरू संगीता साउद, कश्याप रावल, एकेन्द्र सोडारी, भूपेन्द्र सिंह, प्राप्ती बटाला र पुष्पराज उपाध्यायलाई टीका तथा खादा लगाएर स्वागत गरिएको थियो।

कार्यक्रममा सन्त निरंकारी आदर्श विद्यामन्दिरका पूर्वअध्यक्ष श्रीराम काफ्ले, क्षेत्रीय सेवादल सञ्चालक तथा गुठियार बोर्ड सदस्य नरबहादुर बटाला, पूर्वशिक्षक प्रकाशमान ठकुल्ला, विद्यालयका गुठियार कोषाध्यक्ष बलबहादुर सार्की, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता सन्त निरंकारी आदर्श विद्यामन्दिरका अध्यक्ष प्रकाश भण्डारीले गर्नुभएको थियो। विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाको तर्फबाट शिक्षक सालिकराम घर्तीमगरले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नवआगन्तुक शिक्षक एकेन्द्र सोडारीले गर्नुभएको थियो।

अन्त्यमा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले ज्ञवाली सरलाई टीका र खादा लगाएर बिदाइ गरेका थिए। वर्षौदेखि ज्ञान बाँड्दै उभिएको आफ्नै कर्मभूमिबाट बिदा हुँदै गर्दा ज्ञवाली सरका आँखामा पनि भावनाका छाल देखिन्थे। विद्यालयको आँगनमा गुरु–शिष्यबीचको त्यो आत्मीय क्षणले उपस्थित सबैलाई भावुक बनाएको थियो। तीन दशकको सहयात्रा टुंगिए पनि उहाँले छोडेर जानुभएको ज्ञान, संस्कार र सम्झना भने विद्यालयका भित्ताभित्र र विद्यार्थीका मानसपटलमा लामो समयसम्म जीवित रहनेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।