बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, सेनाको हवाई माध्यमबाट ४ हजार १५७ जनाको उद्धार

रसुवा, २७ भदौ । बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट खोज, उद्धार, राहत र उपचार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाका अनुसार भदौ २७ गते साँझ ५ः३० बजेसम्म हवाई साधनमार्फत थप २० जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १५७ पुगेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले टनेलभित्र खोज तथा उद्धार कार्य जारी राखेको छ। यस्तै, लाङटाङ जलविद्युत् आयोजनाको टनेलभित्र संयुक्त टोलीले सम्पूर्ण क्षेत्रमा खोजी गरे पनि हालसम्म कुनै व्यक्ति वा अन्य सामग्री फेला नपरेको सेनाले जनाएको छ।
चिलिमे हाइड्रोपावर आयोजनामा भने उद्धार कार्यलाई सहज बनाउन स्याफ्रुबेसीदेखि टनेलसम्म भारी उपकरण लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण सम्पन्न गरिएको छ। टनेलभित्र आवतजावतका लागि ६–६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी बाटो तयार गर्ने काम भइरहेको छ। एक्स्काभेटरको प्रयोग गरी टनेलभित्र करिब ६५ मिटर लेदो हटाइसकिएको र थप खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित अडिट–३ टनेलमा नेपाली सेनासहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ ए को पावरहाउस तथा टनेल क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्षेत्रमा नेपाली सेनासहितको टोलीले उत्खनन कार्यलाई निरन्तरता दिएको छ।


स्थलमार्गबाट पनि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशूली पारीकोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत क्षेत्रमा नेपाली सेनाको टोलीले पैदल गस्तीमार्फत बेपत्ता तथा प्रभावितको खोजी गरिरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।
यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शुक्रबार ५५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यी केन्द्रबाट हालसम्म ३ हजार ७२० जनाले स्वास्थ्य सेवा लिइसकेको सेनाले जनाएको छ।
स्रोत : कोमल ज्ञवाली सचिवालय
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.