व्याक्ती बिशेष

छोराछोरीलाई जागिरे बनाएपछि आफू पनि पढेर ‘डिग्रीहोल्डर’ बने ७० वर्षीय इन्द्रबहादुर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २, सोल्मास्थित मुडेका ७० वर्षीय इन्द्रबहादुर थापाका तीन छोरा र तीन छोरी छन् । ७० वर्षअघि ०१३ सालमा बुबा रत्नबहादुर तथा आमा लीलादेवी थापाको कोखबाट पाँचौँ सन्तान (अन्तरे)का रूपमा जन्मिएका इन्द्रबहादुरले ०३२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) द्वितीय श्रेणीमा उत्तीर्ण गरेका थिए । 

एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरसँगै घर–व्यवहार, छोराछोरीको शिक्षादीक्षाका लागि समय बिताएका इन्द्रबहादुरका जेठा छोरा मनोज सिभिज इन्जिनियर (युएनमा कार्यरत), माहिलो विनोज नेपाली सेना तथा कान्छा छोरा प्रनोज थापा अमेरिकामा कम्प्युटर साइन्स लिएर मास्टर्स डिग्री (स्नातकोत्तर) अध्ययन गर्दै छन् । जेठी छोरी मनिता कृषि मन्त्रालयअन्तर्गत दसाैँ तहमा कार्यरत (हाल बिदा लिएर अमेरिकामा पिएचडी अध्ययनरत), माहिली सरिता नेपाल एयरलाइन्समा लेखा अधिकृत र कान्छी छोरी विनिता थापा रामेछामको लिखु तामाकोशी गाउँपालिकास्थित चन्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । 

बिज्ञापन

एसएलसी उत्तीर्ण गरेको दुई वर्षसम्म घर–व्यवहार गर्दै शिक्षक सेवा आयोगको तयारी गरेका इन्द्रबहादुर ०३५ सालमा स्थायी शिक्षक नियुक्त भए । शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक नियुक्त भएका इन्द्रबहादुर ६ महिनापछि जागिर छाडेर सबओभरसियरको नौमहिने तालिममा सहभागी हुन झापा पुगेका थिए । 

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित नौमहिने तालिम पूरा गरेर फर्किएपछि ०३६ सालमा तत्कालीन जिल्ला पञ्चायत कार्यालय खोटाङमा सबओभरसियरको अस्थायी जागिरे बने । जागिरसँगै घर–व्यवहारमा व्यस्त इन्द्रबहादुरले ०३९ साल वैशाखमा सर्वदादेवी बस्नेतसँग विवाह गरे । 

विवाहपछि लगातार तीन छोरा र तीन छोरीका बुबा बनेका इन्द्रबहादुरले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । एसएलसी उत्तीर्ण गरेको १३ वर्षपछि बल्ल ०४५ सालमा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलबाट आइए  (प्रमाणपत्र तह) उत्तीर्ण गरे । सोही साल नेपालमा भूकम्प गयो । 

भूकम्पपछि जिल्लामा स्थापना भएको भूकम्पपीडित पुनर्निर्माण पुनर्स्थापना जिल्ला सम्पर्क कार्यालय खोटाङमा सरुवा भएर आठ वर्ष काम गरे । जिल्लाबाट पुनर्स्थापना कार्यालय खारेज भएपछि पुनः जिल्ला विकास समितिको कार्यालय खोटाङमा फर्किएका अस्थायी जागिरे इन्द्रबहादुरले सोही क्याम्पसबाट ०५१ सालमा बिए (स्नातक) उत्तीर्ण गरे । 

जिविसमा २८ वर्षसम्म सबओभरसियर पदमा अस्थायी जागिर गरेका इन्द्रबहादुर ०६३ सालमा बल्ल सबइन्जिनियर पदमा स्थायी भए । स्थायी जागिरे भएको ११ वर्ष नबित्दै उमेरहदका कारण ०७४ सालमा अनिवार्य अवकाश भएका इन्द्रबहादुरले त्यसपछि भने आफ्नो अध्ययनलाई पूरा गर्ने अवसर प्राप्त गरे । 

छोराछोरीको पढाइ सकाएर जागिरे बनाएसँगै आफूले पनि जागिरबाट अवकाश पाएपछि इन्द्रबहादुर फेरि ०७६ सालमा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भए । सामाजिकशास्त्र संकायमा क्याम्पस भर्ना भएका उनी ०८१ सालमा स्नातकोत्तर उत्तीर्ण भए । 

द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण भएका इन्द्रबहादुर वर्ष दिनपछि पुस १० गते त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ५१औँ दीक्षान्त समारोहमा सहभागी भएर दीक्षित भएका छन् । ‘उमेरमा पढ्न पाइएन । जसरी पनि मास्टर्स डिग्री पूरा गर्छु भन्ने मेरो सपना थियो । त्यो सपना पूरा गर्नका लागि छोराछोरीको पढाइ सकाएर जागिरे बनाएपछि मात्र सम्भव भयो,’, उनले भने, ‘मेरो पनि जागिर सकियो । फुर्सद मिलेपछि नाति–नातिना उमेर समूहका साथीहरूसँग बसेर परीक्षा दिएँ । सफलता पनि मिल्यो । अहिले उनीहरूसँगै काठमाडौँ आएर दीक्षित भएको छु । पढाइलाई उमेरले छेक्दैन रहेछ । मानव जीवनका लागि शिक्षा सबैभन्दा ठुलो सम्पत्ति हो ।’

ढिलै भए पनि पढेर मास्टर्स डिग्रीहोल्डर बनेका इन्द्रबहादुरले जागिरमा रहेको अवस्थामा ०४६ सालमा राजा वीरेन्द्रवीरविक्रम शाहको हातबाट दैवी पीडित उद्धार पदकसमेत आफूले प्राप्त गरेको जानकारी दिए । ०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमार्फत झुन्ड्याएर ल्याइएको गाडीमार्फत यातायात सेवा विस्तार गरिएको जिल्लामा सडक निर्माण गर्न सबइन्जिनियर इन्द्रबहादुरको ठुलो योगदान रहेको जिल्लावासीले बताउँदै आएका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।