हरितालिका तीज सुरु, आज नेपाली हिन्दु नारीले दर खाँदै

काठमाडौं । नेपाली हिन्दु नारीहरूको प्रमुख पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ। तीजको पहिलो दिन आइतबार नेपाली महिलाहरूले परम्पराअनुसार दर खाँदै पर्वको औपचारिक सुरुआत गरेका छन्।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाने प्रचलनअनुसार माइती पक्षले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर विभिन्न परिकार खुवाउने गर्छन्। भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्ने भएकाले त्यसअघि शारीरिक शक्ति सञ्चय गर्ने उद्देश्यले दर खाने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
दरका रूपमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला तथा पौष्टिक खानेकुरा खाने चलन छ। धर्मशास्त्रीय मान्यताअनुसार द्वितीयाको रातको दुई भाग बाँकी रहँदै दर खाइसक्नुपर्ने विधान रहेको बताइन्छ।
तीज धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई महिलाहरूले आफ्ना सुख–दुःख, पीडा र अनुभव गीत तथा नृत्यमार्फत व्यक्त गर्ने अवसरका रूपमा पनि विकसित हुँदै आएको छ। विवाहपछि कर्मघर पुगेका महिलाहरू माइतीमा भेला भएर दिदीबहिनी तथा साथीभाइसँग आफ्ना अनुभव साटासाट गर्ने परम्परा तीजसँग जोडिएको छ।
तीजको दोस्रो दिन भाद्र शुक्ल तृतीयामा महिलाहरूले हरितालिका व्रत बस्नेछन्। चौथीका दिन गणेश पूजा गरिनेछ भने ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी पर्व सम्पन्न गर्ने परम्परा छ। यस वर्ष भदौ ३० गते मंगलबार गणेश चौथी तथा सोही दिन मध्याह्नकालमा स्नान गरी ऋषि पञ्चमी पर्व मनाउने पात्रोमा उल्लेख छ।
पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा लगेका थिए। त्यही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।
साथीहरूले पार्वतीलाई हरण गरी लुकाएको प्रसंगसँग जोडेर यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ।
तीजका अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमा व्रतालु महिलाको ठूलो भीड लाग्ने गर्छ। तीज सुरु भएसँगै नेपाली समाजमा चाडपर्वको उल्लास बढेको छ। तीजपछि नेपालीहरूको प्रमुख पर्व बडादसैँ र तिहारलगायतका चाडपर्वको क्रम सुरु हुन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
