७९औं सन्त समागमको सेवाको मंगलमय सुरुवात : सेवा बन्यो समर्पणको साधना

हरेक हृदयबाट सेवा र मानवताको शुभारम्भ होस्- निरंकारी राजपिता रमित जी

समालखा, २० सेप्टेम्बर २०२६ । विविधताले भरिएको यस संसारमा मानिसका रूप, भाषा र जीवनशैली फरक भए पनि यी बाह्य भिन्नताभित्र रहेको चेतना एउटै छ। हामी सबै परमात्माका सन्तान हौ। सतगुरुले प्रेमको अदृश्य सूत्रमा बाँधेर मानवतालाई एकताको सन्देश दिनुभएको छ। सन्त निरंकारी मिशनले यही भावनालाई ‘वसुधैव कुटुम्बकम्’ अर्थात् ‘सम्पूर्ण संसार एक परिवार’को रूपमा व्यवहारमा उतार्दै आएको छ, जहाँ प्रेम केवल विचार नभई जीवन जिउने शैली बनेको छ।

७९औँ वार्षिक निरंकारी सन्त समागम परम श्रद्धेय सतगुरु माता सुदीक्षा जी महाराज तथा निरंकारी राजपिता रमितजीको पावन सान्निध्यमा आगामी २३ देखि २६ अक्टोबर २०२६ सम्म हरियाणाको समालखास्थित सन्त निरंकारी आध्यात्मिक स्थलमा श्रद्धा र उल्लासका साथ आयोजना हुँदैछ। आत्मिक चेतना तथा मानव एकताको सन्देशलाई आत्मसात् गर्न देश–विदेशबाट लाखौ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। सतगुरुको दिव्य दर्शन र प्रवचनबाट श्रद्धालुले आत्मिक शान्तिसँगै प्रेम, सेवा, करुणा र मानवताको भाव जीवनमा अपनाउने प्रेरणा प्राप्त गर्नेछन्।

समागमका सेवाको शुभारम्भ सोमबार श्रद्धा, समर्पण र सेवाभावले भरिएको वातावरणमा गरिएको छ। निरंकारी राजपिता रमितजीले सेवा स्थलको उद्घाटन गर्नुभयो। कार्यक्रममा मिशनको कार्यकारिणी समिति, केन्द्रीय सेवादलका अधिकारी तथा हजारौ श्रद्धालुले प्रेम र निष्ठाका साथ सेवामा सहभागिता जनाए। सन्त निरंकारी मण्डलकी अध्यक्ष राजकुमारी ‘मामीजी’ तथा सचिव जोगिन्दर सुखीजाले पुष्पगुच्छा अर्पण गरी निरंकारी राजपिताजीको स्वागत गर्नुभयो। सेवाको सुरुवातसँगै सेवा साधना र समर्पणलाई जीवनको आधार बनाउने सन्देश प्रवाह भएको छ।

सेवा शुभारम्भका अवसरमा श्रद्धालुलाई सम्बोधन गर्दै निरंकारी राजपिता रमितजीले सतगुरु माता जीको प्रेम तथा आशीर्वाद श्रद्धालुसम्म पुर्याउँदै सन्त समागमका सेवाको विशाल स्वरूप असंख्य सन्तको निःस्वार्थ सेवा, त्याग र समर्पणको परिणाम भएको बताउनुभयो। उहाँले मानव जीवन केवल आफ्ना लागि नभई अरूको सुख–दुःखमा सहभागी हुन प्राप्त भएको उल्लेख गर्नुभयो।

‘सेवामा जब ‘म’को भावना समाप्त भएर ‘हामी’को भावना आउँछ, तब मात्र सेवाको वास्तविक अर्थ प्रकट हुन्छ,’ उहाँले भन्नुभयो। सतगुरुको ज्ञानले मानिसको दृष्टिकोण परिवर्तन गरी प्रत्येक मानवमा निरंकारको स्वरूप देख्ने प्रेरणा दिने उहाँको भनाइ थियो। मानिसले मानिसलाई प्रेम र सम्मान गर्न सके पृथ्वी अझ सुन्दर बन्ने बताउँदै उहाँले मानव भएर मात्र होइन, आफ्ना कर्म र व्यवहारबाट पनि सच्चा मानव बन्न सक्ने शक्ति प्रदान गर्न सत्गुरुसँग प्रार्थना गर्न आग्रह गर्नुभयो।

यस वर्षको सन्त समागमको मूल विषय ‘जागृति’ रहेको छ। यसले मानिसलाई बाहिरी संसारबाट ध्यान हटाएर आफ्नै अन्तरमनमा झाँक्न र आफ्नो वास्तविक स्वरूप पहिचान गर्न प्रेरित गर्छ। सतगुरु माता जीले पनि जागरूक र चेतनशील भक्त हरेक क्षण भक्तिमा लीन रहने बताउँदै आउनुभएको छ। ‘जागृति’ कुनै नयाँ कुरा अचानक बोध हुनु मात्र नभई प्रत्येक क्षण आफूभित्र सजग र सचेत रहनु हो। संसारमा रहेर पनि त्यसका नकारात्मक प्रभावबाट आफूलाई जोगाउँदै हरेक परिस्थितिमा प्रभुस्मरणसँग जोडिइरहनु नै वास्तविक जागृति हो।

निरंकारी सन्त समागम कुनै धर्म, जाति, भाषा वा क्षेत्रको सीमामा बाँधिएको कार्यक्रम नभई मानवता र सत्यको प्रकाशलाई अघि बढाउने प्रत्येक हृदयको संगमका रूपमा प्रस्तुत हुँदै आएको छ। यहाँ सेवामार्फत मानवता र आध्यात्मिकताको समन्वय देखिन्छ। हजारौ हात सेवामा र लाखौ हृदय प्रेममा जोडिदा विविधताबीचको एकताको सन्देश प्रत्यक्ष रूपमा साकार हुने गरेको छ।


You must be logged in to post a comment.