टीकापुर

‘टीकापुरको निकासका लागि चुप बसेको हुँ’ : बलिराम चौधरी (वडाध्यक्ष)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर , ७ असोज । टीकापुर नगरपालिका–६ का वडाध्यक्ष बलिराम चौधरीले आफूविरुद्ध विभिन्न आरोप लागे पनि अहिलेसम्म कुनै सञ्चारमाध्यममा सार्वजनिक रूपमा प्रतिवाद नगर्नुको कारण नगरपालिका सञ्चालनमा देखिएको विवादको निकास खोज्नु रहेको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

उनले आफूले चाहे अदालतको आदेश उल्लंघन भएको भन्दै थप कानुनी प्रक्रिया अघि बढाउन सक्ने अवस्था रहे पनि नगरपालिकाको काम प्रभावित नहोस् भनेर ‘साइलेन्ट’ बसेको दाबी गरे। ‘मैले अहिलेसम्म कुनै मिडियामा कसैको कुरा काट्दै वा कसैलाई ब्लेम लगाउँदै बोलेको छैन,’ उनले भने, ‘मेरो मौनताको एउटै कारण हो—टीकापुर नगरपालिकालाई निकास दिनु।’

चौधरीका अनुसार नगरपालिकाको सभा, बजेट र आर्थिक ऐनलाई आधार बनाएर कर संकलनदेखि दैनिक प्रशासनिक तथा आर्थिक काम भइरहेका छन्। तर त्यही सभाले दिएको अधिकार प्रयोग गरी काम गर्ने क्रममा आफूलाई भने जिम्मेवारीबाट अलग गरिएको उनको गुनासो छ।

लोक कल्याणकारी विज्ञापन

‘सभाले पास गरेको आर्थिक ऐनअनुसार दुई महिनादेखि कर उठिरहेको छ। त्यही सभाले पास गरेको बजेटमा टेकेर चेक काटिएका छन्, गाडीमा तेल हालिएको छ, अन्य खर्च भइरहेको छ,’ उनले भने, ‘त्यही सभालाई टेकेर सबै काम हुने हो भने अख्तियारी दिनचाहिँ किन नहुने?’

नगरपालिकामा देखिएको विवादका कारण आगामी दिनमा बजेटविहीन अवस्था सिर्जना हुन सक्ने भन्दै आफू सभामा उपस्थित भएको उनले बताए। ‘हामी जनप्रतिनिधि हौं। भोलि जनतालाई जवाफ दिनुपर्छ। यदि सभा नै नगरेको भए नगरपालिका शून्य बजेटको अवस्थामा पुग्न सक्थ्यो,’ उनले भने, ‘त्यसैले निकासका लागि म सभामा बसेँ, उपस्थित भएँ र सुनेँ।’

चौधरीका अनुसार आफूलाई सभामा बोलाइएको जानकारी नगरपालिकाको प्रणालीमार्फत मोबाइलमा समेत आएको थियो। ‘पालिकाको सिस्टमबाट सबैको मोबाइलमा सभामा उपस्थित हुनुस् भनेर सन्देश आएको थियो। म सभामा गएँ। मजाले बसेर सुनेँ,’ उनले भने, ‘मेरो दायित्व छ, भोलि जवाफ दिनुपर्छ।’

आफूले नगरपालिकाको काम कुनै ठाउँमा नरोकेको दाबी गर्दै उनले त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिए। ‘६ नम्बर वडा अध्यक्षले साइन गरेपछि मात्र दिन्छु, नत्र दिन्नँ भनेर रोकिएको भनिन्छ,’ उनले भने, ‘मैले कहाँ अड्काएँ? त्यो प्रमाणसहित भन्नुपर्‍यो।’

उनका अनुसार आफूलाई काम नगर्न भनिएको लिखित आदेश आएपछि भने उनले कुनै काममा हस्तक्षेप नगरेको बताए। ‘२७ गते मलाई तामेली आयो, स्पष्ट जवाफ दिनुस् भनेर। त्यस दिनदेखि काम नगर्नुस् भनेपछि आजसम्म म साइलेन्ट बसेको छु,’ उनले भने।

अदालतमा आफूविरुद्ध मुद्दा विचाराधीन रहेकाले कार्यपालिकाका कतिपय बैठकमा सहभागी हुन नसकेको पनि उनले स्पष्ट पारे। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग भएको छलफलमा आफूले अन्य वडाध्यक्षहरूलाई बैठकमा सहभागी भएर निर्णय गर्न सहमति दिएको उनले बताए।

‘ममाथि मुद्दा लागिरहेको छ। त्यसैले म कार्यपालिकामा सहभागी हुन सक्दिनँ, तपाईंहरू जानुहुन्छ भने निर्णयमा हस्ताक्षर गर्नुस् भनेकै हो,’ उनले भने, ‘निकास निस्किन्छ भने अरू साथीहरू जानुस् भनेर मैले भनेँ।’

चौधरीले आफूलाई एकातिर मुद्दा लगाउने र अर्कोतिर सहयोगको अपेक्षा गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाए। तर त्यसका बाबजुद आफूले अहिलेसम्म नगरपालिकाको निकासका लागि मौन रूपमा सहयोग गरिरहेको उनको दाबी छ।

‘ममाथि मुद्दा लगाउने अनि सहयोग पनि मागिराख्ने? यो कसरी हुन्छ?’ उनले प्रश्न गरे, ‘तर मैले त साइलेन्ट सहयोग गरिरहेकै छु। मुद्दा हाल्न सक्ने अवस्था हुँदाहुँदै पनि निकास निस्कियोस् भनेर चुप बसेको हुँ।’

उनले नगरप्रमुखको जिम्मेवारी र अदालतको आदेशसम्बन्धी विषयमा पनि स्पष्टता आवश्यक रहेको बताए। आफूले कानुन अध्ययन गरेको उल्लेख गर्दै उनले अदालतको आदेशमा कसलाई के अधिकार दिइएको हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए।

‘अदालतले काम गर्नू भनेको छ भनेर मात्रै हुँदैन। आदेशमा के लेखिएको छ, त्यो पनि हेर्नुपर्छ,’ उनले भने, ‘जिम्मेवारी लिने हो भने त्यसको कानुनी आधार पनि स्पष्ट हुनुपर्छ।’

नगरपालिकाको विवाद लामो समयसम्म तन्किँदा सेवाग्राही र जनप्रतिनिधि दुवै प्रभावित हुने भन्दै उनले व्यक्तिगत आरोप–प्रत्यारोपमा जानुभन्दा संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिए।

‘मिडियाका साथीहरू आउनुहुन्छ, किन बोल्नुहुन्न भनेर सोध्नुहुन्छ,’ चौधरीले भने, ‘मैले एउटै कुरा भन्ने गरेको छु—छाडिदिनुस्, जे हुन्छ राम्रैका लागि हुन्छ। एउटा निकास निस्किन्छ भने म चुप बसेर पनि त्यसका लागि सहयोग गर्छु।’

उनले आफू कसैको कुर्सी वा पदमा विवाद सिर्जना गर्न नचाहेको बताउँदै नगरपालिका र जनताको हितमा विवाद समाधान हुनुपर्ने बताए। ‘मलाई पनि मुद्दा हाल्न सक्ने अधिकार छ, तर त्यसो गर्दा फेरि समस्या बढ्छ,’ उनले भने, ‘त्यसैले अहिलेसम्म मौन बसेको हुँ। मेरो उद्देश्य टीकापुर नगरपालिकाले निकास पाओस् भन्ने हो।’

लोक कल्याणकारी विज्ञापन