अवर्गीकृत

महालक्ष्मी नगरस्तरीय प्रथम एकल गायन प्रतियोगिता सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुर, ९ असोज । महालक्ष्मी नगरपालिकाको आयोजनामा तथा वेस्ट विङ माध्यमिक विद्यालयको व्यवस्थापनमा पहिलोपटक आयोजित नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय एकल गायन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। प्रतियोगितामा नगरभित्रका ३५ विद्यालयका ६४ विद्यार्थीले लोकगीत, आधुनिक तथा देशभक्तिपूर्ण गीत प्रस्तुत गर्दै गायन प्रतिभा प्रदर्शन गरे।

लोक कल्याणकारी विज्ञापन

नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल, विभिन्न वडाका अध्यक्ष, नगर शिक्षा समिति सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मी सहभागी थिए। कार्यक्रमको सञ्चालन वेस्ट विङ माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेका थिए।

लोक कल्याणकारी विज्ञापन

नगर प्रमुख श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए। वेस्ट विङ माध्यमिक विद्यालयका विद्यार्थीले राष्ट्रिय गान र नगर गान प्रस्तुत गरेका थिए।

लोक कल्याणकारी विज्ञापन

शिक्षा निर्देशक पौडेलले पाठ्यपुस्तकमा आधारित सिकाइसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले मौलिक कला, भाषा, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो। विद्यार्थीमा राष्ट्रियता, देशप्रेम र सांस्कृतिक चेतना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।

वडा नम्बर ८ का अध्यक्ष विश्वराज श्रेष्ठले वेस्ट विङले यसअघि नगरस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै एकल गायन प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गरे। उनले विद्यार्थीकेन्द्रित सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

नगर उपप्रमुख महर्जनले छात्र र छात्रालाई समान रूपमा सहभागी गराइएकोमा खुसी व्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने बताइन्। यस्ता गतिविधिले आत्मविश्वास र सिर्जनशीलता बढाउनुका साथै महालक्ष्मीलाई शैक्षिक हबका रूपमा विकास गर्ने प्रयासलाई बल पुग्ने उनको भनाइ थियो।

नगर प्रमुख श्रेष्ठले प्रतियोगिताले नगरको शैक्षिक तथा सांस्कृतिक पहिचान उजागर गर्न सहयोग गर्ने बताए। उनले सहभागी विद्यार्थी तथा विद्यालयका प्रस्तुति अन्तिमसम्म बसेर हेर्न र एकअर्काका प्रस्तुतिबाट सिक्न आग्रह गरे। प्रतिभाशाली र सिर्जनशील युवाको विकासले समाज तथा राष्ट्रको रूपान्तरणमा योगदान पुर्‍याउने भन्दै उनले विद्यार्थीलाई आफ्नो प्रतिभा निरन्तर निखार्न प्रेरित गरे।

प्रतियोगिताको निर्णायक मण्डलमा कुटुम्ब ब्याण्डका पवित महर्जन प्रमुख निर्णायक तथा सलिना बीके निर्णायक थिए। शिक्षा निर्देशक पौडेलले मूल्याङ्कन निष्पक्ष, पारदर्शी र मर्यादित रूपमा गर्न निर्णायकलाई आग्रह गरेका थिए।

प्रतियोगिताको व्यवस्थापन गरेको वेस्ट विङ माध्यमिक विद्यालयले भने प्रतिस्पर्धीका रूपमा सहभागिता जनाएको थिएन। व्यवस्थापन गर्ने विद्यालय नै प्रतियोगितामा सहभागी नभएकाले मूल्याङ्कन र निर्णय प्रक्रिया थप निष्पक्ष तथा पारदर्शी बनाउन सहज भएको प्रधानाध्यापक बाबुराज महर्जनले बताए।

उनले पहिलोपटक नगरस्तरीय एकल गायन प्रतियोगिता व्यवस्थापन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, नगरपालिका, निर्णायक मण्डललगायतलाई धन्यवाद दिए।

छात्रातर्फ उपासना र छात्रतर्फ प्रथम विजयी

प्रतियोगिताको छात्रातर्फ विश्वामित्र गणेश माध्यमिक विद्यालयकी उपासना सुनार प्रथम भइन्। महेन्द्र आदर्श माध्यमिक विद्यालयकी अनिषा बिक द्वितीय र पवन प्रकृति अंग्रेजी माध्यमिक विद्यालयकी कृतिका लामा तृतीय भइन्।

छात्रातर्फ ललित एकेडेमीकी रञ्जिता तामाङ चौथो, काठमाडौं शिक्षालय ललितपुर माध्यमिक विद्यालयकी श्रीजिता पनेरू पाँचौँ, गौरीशंकर इङ्ग्लिस बोर्डिङ स्कुलकी सोफिया ढुंगेल छैठौँ, लुबु माध्यमिक विद्यालयकी अनिषा बैजु सातौँ, समता शिक्षा निकेतनकी प्रशंसा रिजाल आठौँ, सेन्ट मेरीज माध्यमिक विद्यालयकी इच्छा रिजाल नवौँ र पीस पोइन्ट एकेडेमीकी सुबिना भारती दशौँ स्थानमा रहे।

त्यस्तै, छात्रतर्फ युनाइटेड स्कुलका प्रथम थापा प्रथम भए। तारापुञ्ज इङ्लिस स्कुलका विकल्प श्रेष्ठ द्वितीय र ललित एकेडेमीका रोहित सुनार तृतीय भए।

छात्रतर्फ शिखर स्कुलका आदित्य उप्रेती चौथो, लुबु माध्यमिक विद्यालयका प्रणिश तामाङ पाँचौँ, पवन प्रकृति अंग्रेजी माध्यमिक विद्यालयका रोहन कार्की छैठौँ, नवकुञ्ज माध्यमिक विद्यालयका भिजन गदाल सातौँ, विश्वामित्र गणेश माध्यमिक विद्यालयका सविना लिम्बू आठौँ, जेनियम नेशनल एकेडेमीका अनमोल सेवा नवौँ र नेपाल डनबस्को स्कुलका शुभम निरौला दशौँ स्थानमा रहे।

प्रथमदेखि दशौँ स्थानसम्म उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीलाई निर्धारित नगद पुरस्कारसमेत प्रदान गरियो। सहभागी विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, व्यवस्थापनमा योगदान पुर्‍याएको वेस्ट विङलाई प्रमाणपत्र तथा निर्णायक मण्डलका सदस्यलाई मायाको चिनो प्रदान गरिएको थियो।

पहिलोपटक आयोजित प्रतियोगिताले विद्यार्थीलाई आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै प्रतिभा पहिचान, प्रोत्साहन, सांस्कृतिक संरक्षण र देशप्रेमको भावना विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ। प्रतियोगिताले नगरभित्रका विद्यालयबीच सहकार्य, सहभागिता र स्वस्थ प्रतिस्पर्धाको वातावरणसमेत निर्माण गरेको जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन