जोराघाट माविको घटनाबारे विद्यालय पक्षको आग्रह– ‘सत्यतथ्य बुझौ, प्रतिष्ठा जोगाऔ’

डोटी, ९ असोज । जोराघाट माध्यमिक विद्यालयसँग सम्बन्धित घटनाबारे सामाजिक सञ्जालमा विभिन्न समाचार तथा प्रतिक्रियाहरू सार्वजनिक भइरहेका बेला विद्यालय व्यवस्थापन पक्षले घटनालाई अतिरञ्जित नगरी सत्यतथ्य बुझेर मात्र धारणा बनाउन आग्रह गरेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर ४ का वडा सदस्य रतन कामीका अनुसार केही दिनअघि एक स्थानीय व्यक्तिले मदिरा सेवन गरी विद्यालयका एक शिक्षकलाई गालीगलौज गर्नुका साथै धम्की दिएको घटना भएको थियो। घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी विद्यालय पुगेको र सम्बन्धित व्यक्तिलाई सम्झाइबुझाइ गरिएको उनले बताए।


कामीका अनुसार २७ गते वडा अध्यक्ष, अभिभावक तथा स्थानीय बुद्धिजीवीको उपस्थितिमा छलफल गरी तत्काल समस्या समाधान गरिएको थियो। तर त्यसपछि सामाजिक सञ्जालमा घटनाले व्यापक चर्चा पाएपछि विषय थप संवेदनशील बनेको उनको भनाइ छ।

विद्यालयका प्रधानाध्यापक देव कँवरले विद्यालयको शैक्षिक वातावरण, शिक्षक तथा विद्यार्थीको सुरक्षा र संस्थाको प्रतिष्ठालाई प्राथमिकतामा राख्नुपर्ने बताए। समस्या उत्पन्न भए सम्बन्धित सबै पक्षबीच संवाद र सहकार्य गरी समाधान खोज्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष कामीले सामाजिक सञ्जालमा एकतर्फी आरोप–प्रत्यारोप गर्नुभन्दा घटनासँग सम्बन्धित सबै पक्षको कुरा सुनेर सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरे। ‘दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ, तर निर्दोष व्यक्ति फस्नु हुँदैन,’ उनले भने।
विद्यालय व्यवस्थापन पक्षले घटनालाई थप विवादित बनाउनेभन्दा संवाद, सहकार्य र कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने जनाएको छ। विद्यालयको शैक्षिक वातावरण र प्रतिष्ठामा असर नपर्ने गरी सम्बन्धित सबै पक्ष जिम्मेवार भएर प्रस्तुत हुनसमेत आग्रह गरिएको छ।


You must be logged in to post a comment.