भारतमा नेपाली नागरिकताका आधारमा बैंक खाता खोल्ने प्रक्रिया अघि बढ्यो

नयाँदिल्ली, ३० सेप्टेम्बर । भारतमा रोजगारी तथा व्यवसायका लागि बस्दै आएका नेपाली नागरिकले अब नेपाली नागरिकता वा पासपोर्टका आधारमा भारतीय सरकारी बैंकमा खाता खोल्न सक्ने व्यवस्था कार्यान्वयनतर्फ अघि बढेको छ। नेपाली समाज भारतको पहलमा नेपाली राजदूतावास र भारतको सरकारी बैंक इण्डियन बैंकबीच भएको त्रिपक्षीय छलफलपछि यस्तो सहमति बनेको हो।

नेपाली समाज भारतका महासचिव आर.वी. खड्काका अनुसार लामो समयदेखि भारतमा रहेका नेपालीले बैंक खाता खोल्न आधार कार्ड अनिवार्य हुने, प्रहरी प्रमाणीकरणलगायतका प्रक्रियामा समस्या भोग्दै आएका थिए। कतिपय नेपालीका बैंक खाता विभिन्न कारणले बन्द वा ‘सिज’ भएका कारण उनीहरूको दैनिक आर्थिक कारोबारसमेत प्रभावित हुँदै आएको उनले बताए।

‘भारतमा ४०–५० वर्षदेखि काम गरिरहेका नेपालीको रोजगारीकै क्रममा मृत्यु भयो वा अन्य समस्या आयो भने कम्पनी वा भारत सरकारका विभिन्न निकायबाट परिवारले पाउनुपर्ने रकमसमेत बैंक खाता नभएका कारण प्राप्त गर्न कठिन हुने अवस्था थियो,’ खड्काले भने।

उनका अनुसार यही समस्यालाई समाधान गर्न नेपाली समाज भारतले लामो समयदेखि गृहकार्य गर्दै आएको थियो। त्यस क्रममा नेपाली राजदूतावास र इण्डियन बैंकबीच सहजीकरण गरिएको थियो। छलफलमा नेपाली राजदूत शंकर शर्मा तथा इण्डियन बैंककी डीजीएम गीताञ्जली साहुसहित सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको उनले बताए।
खड्काका अनुसार अब नेपालीले भारतमा बैंक खाता खोल्न आधार कार्ड नै बनाउनुपर्ने बाध्यता रहने छैन। नेपाली नागरिकता, पासपोर्ट वा अन्य मान्य परिचयपत्रका आधारमा खाता खोल्ने प्रक्रिया अघि बढाउन सकिने सहमति भएको छ।
तर बैंक खाता खोल्न नेपाली नागरिकताको प्रमाणीकरण आवश्यक पर्नेछ। त्यसका लागि नेपाली राजदूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने व्यवस्था रहने बताइएको छ। दिल्ली तथा राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा रहेका नेपालीले प्रत्यक्ष रूपमा दूतावासमा सम्पर्क गर्न सक्नेछन् भने मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक लगायत टाढाका राज्यमा रहेका नेपालीले दूतावासको इमेलमार्फत आवश्यक कागजात पठाएर नागरिकता तथा ठेगानाको प्रमाणीकरण गराउन सक्ने खड्काले बताए।
दूतावासबाट एनओसी प्राप्त भएपछि भारतभर रहेका इण्डियन बैंकका शाखामध्ये आफूलाई पायक पर्ने शाखामा गएर खाता खोल्न सकिने उनको भनाइ छ।
खाताका लागि भारतमा स्थानीय ठेगाना पनि आवश्यक पर्ने भएकाले भाडा सम्झौता (रेन्ट एग्रिमेन्ट) लगायतका कागजातको व्यवस्था गर्नुपर्ने बताइएको छ। बैंकको एटीएम कार्ड, पासबुक तथा अन्य आवश्यक सामग्री प्राप्त गर्न स्थानीय ठेगाना उपयोगी हुने भएकाले नोटरीमार्फत प्रमाणित भाडा सम्झौता गर्न सकिने खड्काले बताए।
इण्डियन बैंकले खाता खोल्ने सुविधासँगै खातावाल नेपालीले दुर्घटना बीमा तथा मेडिकल क्लेमजस्ता सुविधासमेत लिन सक्ने विषयमा सकारात्मक धारणा राखेको उनले बताए। उनका अनुसार निजी क्षेत्रमा यस्ता बीमा तथा मेडिकल सुविधाका लागि ठूलो रकम खर्चिनुपर्ने अवस्था रहेकाले बैंकिङ सेवामार्फत उपलब्ध हुने सुविधाले नेपाली श्रमिकलाई थप सहयोग पुग्न सक्नेछ।
नेपाली समाज भारतका प्रतिनिधिका अनुसार राजदूतावास, इण्डियन बैंक र नेपाली समाज भारतबीच भएको छलफलपछि बैंकले नेपालीका लागि खाता खोल्ने विषयमा सकारात्मक प्रतिबद्धता जनाएको छ। अब यसको औपचारिक प्रक्रिया, आवश्यक कागजात, कार्यविधि र लागू हुने मितिबारे बैंकबाट आधिकारिक सूचना सार्वजनिक हुन बाँकी छ।
खड्काले बैंकको आधिकारिक सर्कुलर तथा सम्झौता वा प्रक्रियासम्बन्धी कागजात प्राप्त भएपछि भारतभर रहेका नेपालीलाई जानकारी गराइने बताए। उनका अनुसार उक्त जानकारी आम नेपालीसम्म पुर्याउने गरी नेपाली समाज भारतले बैंकसँग समन्वय गरिरहेको छ।
उनले भारतमा बैंक खाता नभएका कारण आर्थिक कारोबार, पारिश्रमिक, दुर्घटना वा मृत्यु भएपछिको क्षतिपूर्ति तथा परिवारले पाउने रकममा समस्या भोगिरहेका नेपालीका लागि यो प्रक्रिया महत्वपूर्ण हुने बताए।
नेपाली समाज भारतका प्रतिनिधिले यसलाई लामो समयदेखि भारतमा बसोबास तथा रोजगारी गर्दै आएका नेपालीको बैंकिङ पहुँचसँग जोडिएको विषयका रूपमा लिएका छन्। यद्यपि खाता खोल्ने प्रक्रिया कहिलेदेखि औपचारिक रूपमा सुरु हुन्छ र कुन–कुन कागजात अनिवार्य हुनेछन् भन्ने विषय इण्डियन बैंकको आधिकारिक सर्कुलरपछि मात्रै स्पष्ट हुनेछ।

