जोशीपुरका रसुवा बाढीपीडितलाई नेपाल मानव धर्म सेवा समितिको राहत

जोशीपुर, १९ असोज । नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम बढरियाको पहलमा संकलन गरिएको राहत सामग्री रसुवा बाढीपीडित जोशीपुर गाउँपालिका–२ मुद्धीका राजकुमार कठरियाको परिवारलाई हस्तान्तरण गरिएको छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले समिति तथा स्थानीय स्तरबाट संकलन गरिएको खाद्यान्नलगायत राहत सामग्री कठरियाको परिवारलाई हस्तान्तरण गरिएको हो। प्राकृतिक विपत्तिमा परेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको समितिले जनाएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र प्रमुख महात्मा क्षमा बाई, जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीलगायत स्थानीय तथा समितिका प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै सहभागीहरूले विपद्का बेला पीडित परिवारलाई सरकारी तथा गैरसरकारी क्षेत्रबाट निरन्तर सहयोग आवश्यक रहेको बताए। उनीहरूले मानवीय सेवाका माध्यमबाट विपद्मा परेका परिवारलाई राहत र सहयोग उपलब्ध गराउनु सामाजिक दायित्व भएको उल्लेख गरे।
नेपाल मानव धर्म सेवा समितिले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा राहत तथा मानवीय सेवा गर्दै आएको जनाएको छ।

