टीकापुरका रामचन्द्र ठकुल्ला र मोहित भट्टराई एमबीबीएस प्रवेश परीक्षामा सफल

टीकापुर, ३ कार्तिक । कैलालीको टीकापुरस्थित सन्त निरंकारी मण्डलका बाल सत्सङ्गतका सदस्य रामचन्द्र ठकुल्ला एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । सन्त निरंकारी आदर्श विद्या मन्दिरमा अध्ययन गरेका उनले चिकित्सा क्षेत्रमा प्रवेश गर्ने आफ्नो बाल्यकालदेखिको सपना पूरा गर्ने बाटो तय गरेका हुन् ।

रामचन्द्र नर्सरीदेखि कक्षा १० सम्म सन्त निरंकारी आदर्श विद्या मन्दिरमै अध्ययन गरेका विद्यार्थी हुन् । इमानदार, लगनशील र मेहनती स्वभावका उनले पारिवारिक आर्थिक अवस्था कमजोर भए पनि आफ्नो लक्ष्यप्रतिको दृढता र निरन्तर मेहनतका कारण चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।
सानैदेखि चिकित्सक बन्ने सपना बोकेका रामचन्द्रको एमबीबीएस प्रवेश परीक्षामा सफलता परिवारका लागि खुसी र गर्वको विषय बनेको छ । प्रवेश परीक्षामा नाम निस्किएलगत्तै उनले आफ्ना बाजे तथा सन्त निरंकारी मण्डल नेपालका संस्थापक सदस्य महात्मा दीपबहादुर ठकुल्लालाई स्मरण गर्दै सत्गुरु माता सुदीक्षा जी महाराजप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
यसैगरी, सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमै अध्ययन गरेका अर्का विद्यार्थी मोहित भट्टराई पनि एमबीबीएस प्रवेश परीक्षामा सफल भएका छन् । एउटै विद्यालयका दुई विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि छनोट हुनु विद्यालय तथा निरंकारी परिवारका लागि गौरवपूर्ण उपलब्धि बनेको छ ।
दुवै विद्यार्थीको सफलताले मेहनत, लगनशीलता र लक्ष्यप्रतिको निरन्तर समर्पणले सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ ।

