प्रवास

झगडा, गालीगलौज र कुटपिटले बेंगलुरुका नेपाली चिन्तित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बेंगलुरु, ३१ भाद्र । भारतको बेंगलुरुमा रहेका केही नेपालीबीच आपसी विवाद, गालीगलौज, होच्याउने र कुटपिटसम्मका घटना बढ्न थालेपछि नेपाली समुदायमा चिन्ता व्यक्त हुन थालेको छ।

परदेशमा रहेका नेपालीबीच आपसी सद्भाव र सहकार्य आवश्यक भए पनि व्यक्तिगत तथा आपसी विवाद सार्वजनिक झगडामा परिणत हुने क्रम बढेको भन्दै समुदायका अगुवाहरूले चिन्ता जनाएका छन्। सार्वजनिक स्थानमा हुने झगडा तथा कुटपिटका घटनाले सम्बन्धित व्यक्तिलाई मात्र नभई समग्र नेपाली समुदायको प्रतिष्ठामा समेत असर पार्न सक्ने उनीहरूको भनाइ छ।

व्यक्तिगत रिसइबी वा सामान्य विवादलाई संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमै आरोप–प्रत्यारोप र होच्याउने प्रवृत्ति देखिन थालेको बताइएको छ। यस्ता गतिविधि सामाजिक सञ्जालमार्फत थप फैलिँदा विवाद झन् जटिल बन्ने गरेको नेपाली समुदायका केही व्यक्तिको अनुभव छ।

विदेशमा रहेका नेपालीको व्यवहारले उनीहरूको व्यक्तिगत छविसँगै समग्र नेपाली समुदायप्रतिको धारणा निर्माणमा समेत प्रभाव पार्ने भएकाले संयमित र जिम्मेवार व्यवहार आवश्यक रहेको उनीहरू बताउँछन्।

बेंगलुरुमा रहेका नेपाली समुदायका अगुवा तथा सम्बन्धित व्यक्तिहरूले आपसी असमझदारीलाई संवादका माध्यमबाट समाधान गर्दै भाइचारा, एकता र सद्भाव कायम गर्न आग्रह गरेका छन्। व्यक्तिगत विवादलाई समुदायको प्रतिष्ठासँग जोडिने गरी सार्वजनिक नबनाउन र समस्या परे कानुनी बाटो अपनाउन उनीहरूले सुझाव दिएका छन्।

परदेशमा नेपाली समुदायको सकारात्मक पहिचान निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएकाले व्यक्तिगत विवादका कारण समग्र समुदाय नै नकारात्मक रूपमा चित्रित हुने अवस्था आउन नदिन सचेत हुनुपर्ने उनीहरूको जोड छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।