सुदूरपश्चिम सरकारले बुधबार बजेट ल्याउने

धनगढी, २० असोज । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ। बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न मंगलबार प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।

सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार सबै मन्त्रालयले योजना तथा कार्यक्रम पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार गर्ने र अन्य प्राविधिक काम भइरहेको उनले बताए।

‘सबै मन्त्रालयले योजना पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार गर्ने तथा अन्य अन्तिम प्राविधिक काम भइरहेको छ,’ मन्त्री रावलले भने।

बजेट पेश गर्ने तयारीसँगै प्रदेशसभामा पनि चहलपहल बढेको छ। सभामुख भीम भण्डारीका अनुसार मंगलबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। बैठकमा बुधबार बजेट पेश गर्ने तथा त्यसपछि सञ्चालन हुने प्रदेशसभा बैठकको कार्यसूची र प्रक्रियाबारे छलफल हुनेछ।
‘आज ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। भोलि बजेट टेबल गर्ने गरी छलफल हुन्छ,’ सभामुख भण्डारीले भने, ‘बुधबार साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरेर बजेट पेश गर्ने तयारी भइरहेको जानकारी पाएका छौँ।’
यसअघि तत्कालीन प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेको थियो। तर बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश लामो समयदेखि बजेटशून्यताको अवस्थामा छ। नयाँ बजेट प्रदेशसभामा पेश गर्ने तयारीसँगै लामो समयदेखि देखिएको बजेटसम्बन्धी अन्योल हट्ने अपेक्षा गरिएको छ।

