प्रवास

मुम्बईमा सुनखरी नेपाली महिला समाजद्वारा नेपाली बाढीपीडितको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २८ भाद्र । सुनखरी नेपाली महिला समाजको आयोजनामा नेपाली बाढीपीडितहरूको सम्झनामा भारतको मुम्बईस्थित मिरा रोडको राधाकृष्ण हलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मौनधारण गर्दै मृतकहरूप्रति सम्मान व्यक्त गरेका थिए।

सुनखरी नेपाली महिला समाजकी अध्यक्ष विष्णु सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष रजनी थापाले गरेकी थिइन्। कार्यक्रममा हाम्रो छहारीकी अध्यक्ष सकुन सिंह, लुम्बिनी माइक्रोकेयर फाउन्डेसनकी अध्यक्ष प्रतिभा खत्री, मनकामना एकता फाउन्डेसनका अध्यक्ष मोतीलाल न्यौपानेसहित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो।

कार्यक्रममा चर्च पास्टर जोन लेप्चाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै प्राकृतिक विपद्मा ज्यान गुमाएका सबैप्रति सम्मान व्यक्त गरे। उनले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै विपद्को समयमा मानवीय सहयोग र सामाजिक एकताको आवश्यकता रहेको बताए। विपद्का बेला सबै नेपाली एकजुट भएर पीडितलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा सहभागीहरूले बाढीपीडित परिवारलाई आवश्यक सहयोग र सहानुभूति प्रदान गर्न समुदायका सबै पक्षलाई आह्वानसमेत गरेका थिए।

कार्यक्रम सफल बनाउन सन्दीप तामाङले हल व्यवस्थापन तथा आयोजनाका लागि महत्वपूर्ण सहयोग गरेका थिए। जगदीश तथा हलका कर्मचारीहरूले पनि कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए।

कार्यक्रममा समाजसेवीहरू कमल सिंह, एमबी बोहरा, धीर रावल र सीबी क्षेत्रीको विशेष उपस्थिति थियो। मुम्बईका विभिन्न स्थानबाट आएका सुनखरी नेपाली महिला समाजका दिदीबहिनी, लुम्बिनी महिला संघका सदस्य तथा मनकामना एकता फाउन्डेसनका दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेख्य सहभागिता रहेको थियो।

दुःखको घडीमा मुम्बईमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरू एकताबद्ध भएर श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनुले आपसी सद्भाव, एकता र मानवीय संवेदनाको सन्देश दिएको आयोजकले जनाएको छ।

सुनखरी नेपाली महिला समाजले आगामी दिनमा पनि बाढीपीडित तथा विपद्मा परेका समुदायलाई आवश्यक सहयोग गर्दै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।