आस्था /आध्यात्म

बाढीपहिरोको शोकमा टीकापुरमा तीजको रौनक हरायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० भाद्र हरेक वर्ष हरितालिका तीजमा महिलाहरूको नाचगान, जमघट र चहलपहलले भरिने कैलालीको टीकापुरका प्रमुख चोक तथा सार्वजनिक स्थल यसपटक भने सुनसान देखिए। भोटेकोसीलगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि त्यसको शोकमा टीकापुरमा तीजको रौनक विगतको तुलनामा निकै फिक्का देखिएको हो।

तीजका अवसरमा विगतका वर्षमा टीकापुरका प्रमुख चोक बलभद्र चोक र सिद्धार्थ चोकमा ठूलो भीड लाग्ने गरेको थियो। महिलाहरूको बाक्लो जमघट, नाचगान तथा सांस्कृतिक कार्यक्रमले चोकहरू दिनभरजसो भरिभराउ हुने गर्थे। तर यसपटक भने दुवै चोकमा विगतको जस्तो चहलपहल देखिएन। तीजका दिनसमेत चोकहरू सुनसानजस्तै देखिए।

विगतमा तीजका अवसरमा टीकापुरका प्रमुख चोक, बजार तथा खुला मैदानमा महिलाहरूको बाक्लो उपस्थिति हुने गरेको थियो। नाचगान, सांस्कृतिक कार्यक्रम र सामूहिक जमघटले दिनभर चहलपहल हुने ती स्थानमा यस वर्ष भने त्यस्तो दृश्य देखिएन। कतिपय स्थानमा कार्यक्रम आयोजना नै भएनन् भने केही ठाउँमा पनि सामान्य रूपमा मात्र चाड मनाइएको स्थानीयले बताएका छन्।

टीकापुर नगरपालिकाले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नगरवासीलाई भड्किलो रूपमा चाडपर्व नमनाउन र सम्भव भएसम्म सादगीपूर्ण ढंगले तीज मनाउन आग्रह गरेको थियो। यही आग्रह र देशभरको विपद्को अवस्थाका कारण पनि यसपटक तीजका कार्यक्रमहरूमा विगतको जस्तो उत्साह नदेखिएको स्थानीय बताउँछन्।

देशका विभिन्न जिल्लामा लगातारको वर्षापछि आएको बाढीपहिरोमा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने धेरै परिवार विस्थापित भएका छन्। विपद्का कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारको पीडाबीच चाडपर्व मनाउँदा सामान्य अवस्थामा जस्तो उल्लास देखाउन नसकिएको स्थानीयको भनाइ छ।

टीकापुरका एक स्थानीय ब्यापारी दीपक रावलका अनुसार विगतमा तीजका दिन महिलाहरूको बाक्लो भीड लाग्ने बलभद्र चोक, सिद्धार्थ चोकलगायतका स्थानमा यसपटक सन्नाटा देखियो। ‘देशका धेरै ठाउँमा मानिसहरू विपद्मा परेका बेला ठूलो उत्सव मनाउने मनस्थिति कसैमा छैन,’ उनले भने, ‘यसपटक तीजभन्दा पनि पीडित परिवारको दुःख र विपद्बाट प्रभावित नागरिकको अवस्थाप्रति चिन्ता बढी देखियो।’

पशुपतिमा पनि घट्यो चहलपहल

काठमाडौँमा पनि यस वर्षको हरितालिका तीजमा पशुपतिनाथ मन्दिर परिसरमा विगतको तुलनामा भक्तजनको उपस्थिति घटेको देखिएको छ। अघिल्ला वर्षमा तीजका दिन गुह्येश्वरी र गौशालासम्म भक्तजनको लामो लाइन लाग्ने गरे पनि यसपटक लाइन गौरीघाट आसपासमै सीमित भएको थियो।

पशुपतिनाथको मूल ढोकापछाडिको सडकमा भेटिएका भक्तजन त्रिदेव कोइरालाले बाढीपहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित र कतिपयको ज्यान गएकाले चाडपर्वमा पनि पहिलेझैँ उत्साह नदेखिएको बताए।

‘एकातर्फ देश शोकमा छ, अर्कोतर्फ कयौँ नागरिकले ज्यान गुमाएका छन्,’ उनले भने, ‘यस्तो परिस्थितिमा पहिलेझैँ हर्षोल्लासका साथ रमाउने वातावरण बनेको छैन।’

देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपद्को पीडाले यस वर्षको तीजको उत्साहलाई प्रभावित गरेको देखिएको छ। धार्मिक आस्था र परम्परा कायम रहे पनि सार्वजनिक रूपमा हुने नाचगान, सांस्कृतिक कार्यक्रम र सामूहिक जमघट भने अघिल्ला वर्षको तुलनामा न्यून देखिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।