भोटेकोशी बाढीपीडित टीकापुर–४ र ५ का २९ परिवारलाई ८० हजार सहयोग

टीकापुर, ०४ असोज । भोटेकोशी बाढीमा आफन्त गुमाएका तथा प्रभावित बनेका टीकापुर–४ र ५ का २९ परिवारलाई स्थानीय टोल विकास संस्थाहरूले संकलन गरेको ८० हजार १६१ रुपैयाँ सहयोग गरिएको छ। विपत्तिले परिवारका सदस्य खोसेर पीडामा रहेका परिवारलाई स्थानीय समुदायले सकेको सहयोग जुटाएका हुन्।

वडा नं. ४ का १५ वटा टोल विकास संस्थाले आफ्नो गच्छेअनुसार संकलन गरेको रकम वडा अध्यक्ष लालवीर चौधरीले वडा नं. ४ र ५ का बडघरको रोहबरमा हस्तान्तरण गर्नुभएको थियो। प्राप्त रकम दुवै वडाका बडघरले २९ पीडित परिवारलाई दामासाहीका आधारमा वितरण गरेका छन्।

वडा अध्यक्ष चौधरीले रकम सानो भए पनि विपत्तिमा परेका परिवारको घाउमा मलम लगाउने प्रयास महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पीडित परिवारको दुःखमा साथ दिएको भन्दै टोल विकास संस्थाहरूलाई धन्यवाद दिनुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय जनसमुदायसँगै पीडित परिवारका सदस्यहरूको समेत उपस्थिति थियो। बाढीले आफन्त गुमाएका परिवारका लागि स्थानीय समुदायबाट प्राप्त सहयोगले दुःखको घडीमा आफूहरू एक्लो नभएको अनुभूति गराएको सहभागीले बताएका छन्।


You must be logged in to post a comment.