आस्था /आध्यात्म

सन्त निरंकारी मण्डलको ३७औं साधारण सभा सम्पन्न, सेवा र सद्भावमा जोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बौनिया -बौनिया, ४ असोज । सन्त निरंकारी मण्डल नेपालको ३७औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सडकपुर–बौनियास्थित सन्त निरंकारी सत्संग भवनको अधुरो निर्माण कार्य चाँडै अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले भवन निर्माणका लागि गाउँपालिकाले यसअघि विनियोजन गरेको ३५ लाख रुपैयाँ कार्यान्वयनमा लैजाँदै ठेक्का प्रक्रिया पूरा गरी निर्माणलाई गति दिने बताउनुभयो। ‘अब यो कामलाई हामी तुरुन्तै अघि बढाउँछौं,’ कुँवरले भन्नुभयो, ‘असोजभित्रै ठेक्का गरी भवन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछु।’

लोक कल्याणकारी विज्ञापन
oplus_2097152

कुँवरले सन्त निरंकारी मण्डलसँग आफ्नो करिब तीन दशक पुरानो सम्बन्ध रहेको स्मरण गर्दै विगतमा व्यक्तिगत रूपमा समेत सहयोग गरेको बताउनुभयो। त्यतिबेला आफ्नो इँटाभट्टा रहेको र मण्डलको भवन निर्माणका लागि इँटा सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो। ‘त्यतिबेला लालबहादुर रावलज्यूले निरंकारी मण्डललाई सहयोग गर्नुपर्छ, इँटा दिनुपर्छ भन्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘मैले व्यक्तिगत रूपमा इँटा सहयोग गरेको थिएँ।’

गाउँपालिकाको नेतृत्वमा आएपछि स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको कुँवरले बताउनुभयो। स्थानीय नागरिकको आर्थिक अवस्था कमजोर भएकाले सुरुमा कक्षा १० सम्म निःशुल्क शिक्षा लागू गरिएको र अहिले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको उहाँको भनाइ थियो। स्वास्थ्य सेवातर्फ एमडीजीपीदेखि एमबीबीएस चिकित्सकसम्म परिचालन गरी स्थानीयलाई सेवा दिइरहेको तथा खानेपानीको समस्या समाधान गर्न विश्व बैंक, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा वडा नं. १ देखि ६ सम्म विभिन्न आयोजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो। वडा नं. ३ मा खानेपानी आयोजना सञ्चालनमा आइसकेको र एक वर्षसम्म निःशुल्क पानी उपलब्ध गराइएको बताउँदै उहाँले अन्य वडामा आयोजना सम्पन्न भएपछि त्यहाँ पनि एक वर्षसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने जानकारी दिनुभयो। स्थानीयस्तरमै उच्च शिक्षा अध्ययनको अवसर सिर्जना गर्न क्याम्पस स्थापना गरिएको र त्यसको सञ्चालनमा गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो। विभिन्न क्षेत्रमा ठूलो लगानी गर्नुपरेकाले सन्त निरंकारी भवन निर्माणले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै कुँवरले अब अधुरो कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

लोक कल्याणकारी विज्ञापन
oplus_6291456

३७औँ वार्षिक साधारण सभा बर्दगोरियामा आयोजना गरेर गाउँपालिकालाई देशभर चिनाउने अवसर दिएको भन्दै कुँवरले सन्त निरंकारी मण्डलप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मण्डलको आध्यात्मिक तथा सामाजिक अभियानले निरन्तरता पाओस् भन्ने शुभकामना पनि दिनुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल झकडपुरका डीएसपी विश्वनाथ पोखरेलले आध्यात्मिक चिन्तनले व्यक्तिको सोच, व्यवहार र समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। धर्मभन्दा फरक रूपमा आध्यात्मिक चेतनालाई बुझेर त्यसलाई जीवनपद्धतिका रूपमा आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो। सन्त निरंकारी मण्डल विशुद्ध आध्यात्मिक संस्था भएको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउँदै पोखरेलले मानिस जुनसुकै धार्मिक वा आध्यात्मिक बाटोबाट अघि बढे पनि अन्ततः ब्रह्मज्ञानको खोजीमा पुग्ने भएकाले आध्यात्मिक चिन्तनको महत्व रहेको बताउनुभयो। ‘यो विशुद्ध ब्रह्मज्ञान प्राप्तिका लागि आध्यात्मिक चिन्तन गर्ने स्थान रहेछ भन्ने थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘कार्यालयबाट यति नजिक भएर पनि यस ठाउँबारे जानकारी नहुनु मेरा लागि आश्चर्यको विषय भयो।’

oplus_2097152

मानिसको सोच र व्यवहारमा सकारात्मक तथा नकारात्मक दुवै पक्ष रहने भएकाले सकारात्मक पक्षलाई बलियो बनाउन ध्यान, चिन्तन र आध्यात्मिक अभ्यास आवश्यक रहेको पोखरेलले बताउनुभयो। विशेषगरी बालबालिका तथा युवालाई आध्यात्मिक ज्ञान र सकारात्मक चिन्तनतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जाल, युट्युब र इन्टरनेटमा उपलब्ध सामग्रीको प्रयोग विवेकपूर्ण रूपमा गर्न आग्रह गर्नुभयो। ‘सोसल मिडियामा हामीले के हेर्छौं र त्यसबाट के ग्रहण गर्छौं भन्ने महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो, ‘ज्ञान र सकारात्मक सोच बढाउने सामग्रीलाई जीवनपद्धतिको हिस्सा बनाउनुपर्छ।’

oplus_2097152

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले मानव सेवा, सद्भाव र विश्वबन्धुत्वको भावनालाई भाषणमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक सेवाका काममा आफूले सकेको योगदान गर्दै ‘आगो लगाउने होइन, निभाउने’ पक्षमा उभिनुपर्ने धारणा राख्नुभयो। ‘मुखले गरेर हुँदैन, हामीले कर्म गरेर देखाउनुपर्छ,’ रावलले भन्नुभयो, ‘मेरो नाम आगो लगाउनेमा होइन, आगो निभाउनेमा होस्।’

oplus_6291456

रावलका अनुसार सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई मानव एकता र आध्यात्मिक चेतनामा आधारित अभियान हो। विभिन्न धार्मिक पृष्ठभूमिका मानिस आबद्ध रहेको उल्लेख गर्दै उहाँले जातीय तथा धार्मिक विभाजनभन्दा माथि उठेर मानवलाई मानवका रूपमा हेर्नुपर्ने बताउनुभयो। ‘मानिसका मानिस हुन् प्यारा, एक-अर्काका बनून् सहारा’ भन्ने भावनालाई सामाजिक सेवामार्फत व्यवहारमा उतार्दै आएको उहाँको भनाइ थियो। ‘नर सेवा नारायण पूजा’को अवधारणाले मानव सेवामार्फत परमात्माप्रतिको भक्ति र सम्मान अभिव्यक्त हुने उहाँले बताउनुभयो।

रावलले रक्तदानलाई मण्डलले प्रमुख सामाजिक अभियानका रूपमा अघि बढाएको र नेपालमा वार्षिक करिब १ हजार ५ सयदेखि २ हजार युनिटसम्म रक्तदान हुँदै आएको जानकारी दिनुभयो। प्राकृतिक विपत्ति, सरसफाइ र वृक्षारोपणलगायतका सामाजिक गतिविधिमा समेत मण्डलले आफ्नो क्षमताअनुसार योगदान गर्दै आएको उहाँले बताउनुभयो। नेपालमा मिसनको विस्तारबारे जानकारी दिँदै उहाँले २०२० साल चैत २० गते अछामको न्याउलपानीबाट सत्संग सुरु भएको र त्यसपछि टीकापुरलगायतका क्षेत्र हुँदै देशका विभिन्न जिल्लामा विस्तार भएको बताउनुभयो। हाल ३९ जिल्लामा १३५ भन्दा बढी सत्संग भवन रहेको उहाँको दाबी थियो।

oplus_2097152

सडकपुर–बौनियास्थित सत्संग भवन निर्माणमा स्थानीय सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै रावलले अधुरो निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएकोमा गाउँपालिका अध्यक्ष कुँवरलाई धन्यवाद दिनुभयो। उहाँले साधसंगत तथा सेवामा आबद्ध सदस्यले व्यक्तिगत व्यस्तताका बाबजुद समय, श्रम र स्रोत दिएर सामाजिक तथा आध्यात्मिक अभियानमा योगदान गरिरहेको उल्लेख गर्दै ‘हामी पदाधिकारीभन्दा पनि सेवक हौँ’ भन्ने भावनालाई मिसनको आधारका रूपमा प्रस्तुत गर्नुभयो।

oplus_2097152

स्वागत मन्तव्य दिँदै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमालले पछिल्लो समय समाजमा बढ्दै गएको विभाजन, आलोचना र वैमनस्यबीच मानव–मानवबीच प्रेम, सद्भाव र सहकार्य आवश्यक रहेको बताउनुभयो। धर्म, जाति, भाषा वा सम्प्रदायका आधारमा हुने विभाजनले मानिसको मन नै मानिसबाट घाइते बनाइरहेको उल्लेख गर्दै उहाँले त्यसको उपचार प्रेम र आध्यात्मिक चेतनाबाट सम्भव हुने धारणा राख्नुभयो। रिमालले सन्त निरंकारी मिसन नयाँ रीतिरिवाज स्थापना गर्ने वा पुराना परम्परा भत्काउने अभियान नभई ब्रह्मज्ञानमार्फत परमात्माको अनुभूति र मानवमात्रमा विश्वबन्धुत्व कायम गर्ने आध्यात्मिक विचारधारा भएको बताउनुभयो। ‘सन्त निरंकारी मिसन धर्म परिवर्तन होइन, भावना परिवर्तन हो,’ उहाँले भन्नुभयो, ‘जाति, धर्म, भाषा वा सम्प्रदाय जे भए पनि सम्पूर्ण मानवबीच बन्धुत्व स्थापना गर्नु यसको उद्देश्य हो।’

oplus_6291456

समाजमा आलोचना, निन्दा र अस्वीकारको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै रिमालले मानव सम्बन्ध सुधारका लागि प्रेमलाई आधार बनाउनुपर्ने बताउनुभयो। उहाँले पूर्वसद्गुरु बाबा हरदेव सिंहजी महाराजको ‘न बैर न तकरार की, आज जरूरत है प्यार की’ भन्ने सन्देश उद्धृत गर्दै प्रेम र सद्भावको महत्व औंल्याउनुभयो। आध्यात्मिक चेतनालाई सामाजिक सेवासँग जोड्दै आएको मण्डलले हालैको बाढीपहिरोमा समेत सेवादलका सदस्यलाई उद्धार तथा राहतमा परिचालन गरेको र साधसंगतबाट संकलित रकम राहतमा प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सहयोग उपलब्ध गराएर पीडितको दुःखमा साथ दिने प्रयास गरिएको उहाँले बताउनुभयो।

न्त निरंकारी मण्डल नेपालले आफ्नो ३७औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाको विकासमा योगदान पुर्‍याएका भूमिदाता तथा सामाजिक क्षेत्रमा सक्रिय युवालाई सम्मान गरेको छ।

मण्डलले मकवानपुर शाखाका लागि भूमि उपलब्ध गराउने हेटौँडाका सन्त सुन्तली लामा र हिरा तामाङलाई सम्मान गरेको हो। यस्तै, कञ्चनपुर शाखाका लागि भूमिदान गर्ने सन्त लिलादेवी रानाको परिवारलाई पनि सम्मान गरिएको छ।

सामाजिक क्षेत्रमा सक्रिय युवा पुस्ताको योगदानको कदर गर्दै नेपालगञ्ज निवासी स्वास्थ्यकर्मी सन्त माया बस्याललाई समेत सम्मान गरिएको मण्डलले जनाएको छ। बस्याल अनलाइनखबरले सार्वजनिक गरेको ‘४० वर्षमुनिका ४० व्यक्तित्व’ सूचीमा समेत परेकी थिइन्।

oplus_0

साधारण सभामा सम्मानित सबैलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। मण्डलका अनुसार भूमिदाताहरूको योगदानले संस्थाका शाखा तथा गतिविधि विस्तारमा सहयोग पुगेको छ भने सामाजिक क्षेत्रमा सक्रिय युवाको भूमिकाले समाजमा सकारात्मक योगदान पुर्‍याएको छ।

साधारण सभामा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन केन्द्रीय सहसचिव नरबहादुर विश्वकर्माले गर्नुभएको थियो।

oplus_2097152

बर्दगोरिया गाउँपालिका–२, सडकपुर–बौनियास्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित साधारण सभा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि तथा वडा नं. २ का अध्यक्ष गोविन्द विक, वडा नं. १ का अध्यक्ष मिथुन गौतम, सशस्त्र प्रहरी बल झकडपुरका प्रमुख डीएसपी विश्वनाथ पोखरेल, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय पदाधिकारी, क्षेत्रीय सेवादल सञ्चालक, सञ्चालक, सञ्चालिका, सत्संग इन्चार्जलगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा अतिथिको सहभागिता थियो।

उद्घाटन सत्रपछि बन्द सत्रको आयोजना गरिएको थियो भने सन्त निरंकारी मण्डलका फोटो पत्रकार दीपक रावलले आवश्यक तस्बिरहरू उपलब्ध गराई समाचार प्रकाशनमा महत्वपूर्ण सहयोग गर्नुभएको थियो।

लोक कल्याणकारी विज्ञापन