तीज महोत्सव २०२६ सम्पन्न, कमजोरी सच्याउने आयोजकको प्रतिबद्धता

दिल्ली, २० सेप्टेम्बर । हरितालिका तीज महोत्सव २०२६ सम्पन्न भएपछि आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै व्यवस्थापनका क्रममा भएका कमी–कमजोरीप्रति क्षमायाचना गरेको छ। आगामी कार्यक्रमलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने आयोजकले प्रतिबद्धता जनाएको छ।


महोत्सव सफल बनाउन स्वयंसेवक, सहयोगी, शुभचिन्तक, विभिन्न संघ–संस्था, व्यापारिक प्रतिष्ठान, व्यवसायी तथा प्रायोजकले समय, श्रम, आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेको आयोजकले जनाएको छ। ठूलो स्तरको कार्यक्रम सामूहिक प्रयासबाट मात्रै सम्भव भएको भन्दै आयोजकले सबैको योगदानप्रति कृतज्ञता व्यक्त गरेको हो।
कार्यक्रम व्यवस्थापनका क्रममा अनुभवको कमी, सीमित स्रोत–साधन तथा परिस्थितिका कारण केही कमजोरी भएको स्वीकार गर्दै आयोजकले त्यसबाट कुनै अतिथि, सहभागी, सहयोगी वा शुभचिन्तकलाई असुविधा पुगेको भए क्षमा मागेको छ। भएका कमजोरीलाई आगामी कार्यक्रम सुधारका लागि सिकाइका रूपमा लिने जनाएको छ।

आयोजकले चाँडै समीक्षा बैठक गरी महोत्सवका उपलब्धि, व्यवस्थापकीय कमजोरी र सुधार गर्नुपर्ने पक्षबारे छलफल गर्ने जनाएको छ। सहभागी तथा शुभचिन्तकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी कार्यक्रमको योजना निर्माणमा समेटिने पनि बताएको छ।

भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सामाजिक एकतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ बलियो सहकार्य र प्रभावकारी व्यवस्थापनसहित अघि बढ्ने आयोजकको भनाइ छ। ‘सफलताको श्रेय सबैको हो, कमी–कमजोरीबाट सिक्नु हाम्रो जिम्मेवारी हो’ भन्दै आयोजकले सुधारको यात्रालाई निरन्तरता दिने जनाएको छ।


You must be logged in to post a comment.