क्षमताभन्दा दोब्बर यात्रु बोकेको बस बुडरमा दुर्घटना

डोटी, १२ मंसिर । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा शुक्रबार बिहान यात्रु बोकेको बस दुर्घटनामा परेको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिको ना. ५ ख २६२ नम्बरको बस बिहान ३:०५ बजे श्रीरामपुर माध्यमिक विद्यालय नजिक दुर्घटनामा परेको हो ।

बसमा क्षमताभन्दा बढी यात्रु र सामान राखिएका कारण दुर्घटना भएको भन्दै यात्रुले बस सञ्चालकको लापरबाहीप्रति प्रश्न उठाएका छन् । यात्रुका अनुसार ३५ जनाको क्षमता भएको बसमा करिब ६५ जना सवार थिए । बसको ग्यालरीमा समेत गहुँ, कोदो, दाललगायत खाद्यान्न सामग्री भरिएको थियो ।
बस अछामको मेल्लेख गाउँपालिका–६ षोडशादेवीस्थित श्री नन्देश्वरी माध्यमिक विद्यालयबाट धनगढीका लागि छुटेको थियो । दुर्घटनापछि यात्रुहरूले क्षमताभन्दा बढी यात्रु र सामान बोकेर सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
दुर्घटनामा मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।
आज बिहान भएको बस दुर्घटनामा परेका यात्रुहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । दुर्घटनापछि यात्रुहरूलाई गन्तव्यसम्म फर्काउन धनगढीबाट बिहानै अर्को बस पठाइएको थियो । उक्त बसमार्फत दुर्घटनामा परेका यात्रुहरूलाई सकुशल फर्काइएको छ । दुर्घटनाका कारण यात्रुहरू केही समय अलपत्र परे पनि वैकल्पिक बसको व्यवस्था भएपछि उनीहरूलाई सहज भएको छ ।
यात्रुहरूले क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधनमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । केही समय बचाउने वा भाडा जोगाउने नाममा जीवन जोखिममा पार्न नहुने उनीहरूको भनाइ छ ।
साथै, यातायातका साधनको नियमित अनुगमन गरी क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारी सञ्चालकलाई कानुनअनुसार कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ । यात्रुहरूको जीवन व्यापारको वस्तु नभई सुरक्षित यात्रा उनीहरूको अधिकार भएको भन्दै सार्वजनिक यातायातलाई जिम्मेवार र सुरक्षित बनाउनुपर्नेमा जोड दिइएको छ ।

